ताप्लेजुङ — पुस्तक तथा स्टेसनरी व्यवसायीले सामुदायिक विद्यालयको पुस्तकको बिक्री थालेका छन् । कक्षा १ देखि १० सम्मका सम्पूर्ण पुस्तक उपलब्ध भइसकेको व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । शिक्षकको अनुकूलता अनुसार जुनसुकै समयमा खरिद गर्न सक्ने बन्दोबस्ती मिलाइएको छ ।
जिल्लामा स्टेसनरी व्यवसायीले सामुदायिक विद्यालयको पुस्तक संयुक्त रुपमा बिक्री गर्दै आएका छन् । ‘जनक शिक्षाले अग्रिम भुक्तानी गरे पछि मात्रै किताब दिन्छ, जिल्लाभरिका लागि भित्र्याउन डेढ करोड बराबर चाहिन्छ, त्यही भएकाले संयुक्त रुपमा ल्याएर बेच्ने गरिएको हो’ मिश्रले भने । महासंघका उपाध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार १ देखि ३ कक्षा सम्मको दुई हजार र ४ देखि १० सम्मको १८ सय सेटका दरले किताब ल्याइएको छ ।
मैवाखोला, आठराई त्रिवेणी र सिरिजंगा गाउँपालिकाका कतिपय विद्यालयले बाहिर जिल्लाबाट ल्याउने गरेका छन् । बाँकी जिल्लाभरिका स्कूलले सदरमुकाम फुङलिङबाटै लाने गरेको भट्टराई बताए । व्यक्तिगत रुपमा बिक्री गर्दा कतिपय विद्यालयले एक वर्ष एउटाबाट, अर्कोवर्ष अर्को स्टेशनरीबाट लैजाने र बाँकी नतिर्ने भएपछि एक दशक यता संयुक्त रुपमा बेच्न थालेको व्यवसायी बताउँछन । अहिले आएको पुस्तकले जिल्लाका विद्यार्थीलाई पुग्ने र नपुगे तत्काल ल्याउने गरिको ब्यवस्थापन मिलाइएको जनाइएको छ ।
कक्षा १ को पाठ्यपुस्तकको मूल्य ५ सय २० रुपैया तोकिएको छ । दुईको ५ सय ५६, तीनको ५ सय ८०, चारको ६ सय ४ र पाँचको ६ सय ४० रुपैयाँ पर्दछ । छ कक्षाको ६ सय १३, सातको ७ सय ५३, आठको ८ सय ८८, नौको अनिवार्य विषयको ७ सय ७७ र दस कक्षाको ९ सय २० रुपैयाँ मुल्य तोकिएको छ । ऐच्छिकअर्न्तगत नौ कक्षाको ‘कार्यालय सञ्चालन तथा लेखा’को ५२ र दसको ६५ रुपैयाँ निर्धारण गरिएको छ । शिक्षा विषयतर्फ नौको मूल्य ५८ र दसको ६८ रुपैयाँ रहेको छ । नौको अर्थशास्त्रको ७१ र दसको ७३ रुपैया, कम्प्युटर विज्ञान विषयको ८५ र ८६ रुपैयाँ, इतिहासको ८२ र ६३ रुपैयाँ राखिएको छ ।
यो वर्ष सदरमुकाममै पुस्तक लिनु आउनु परेको स्थिति छ । ‘जनक शिक्षामा नगद कारोबार, विराटनगरदेखि ताप्लेजुङसम्मका ढुवानी गर्दा फेरि गाउँसम्म चाहिँ पुर्याउन सकिएन’ अध्यक्ष मिश्रले भने । प्रधानाध्यापकले जाँगर पुर्याए वैशाख पहिलो साता सबै विद्यार्थीको हातमा नयाँ किताब पुग्ने व्यवसायी बताउँछन् । भौगोलिक हिसाबले डोल्पा र हुम्ला पछिको तेश्रो ठुलो जिल्ला ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा, याङमा, फले, ग्याव्ला जस्ता बस्ती किताब पुर्याउन चार दिनसम्म लाग्छ ।