ताप्लेजुङ — विश्वकै प्रतिष्ठित इशा अवार्ड थापेर अघिल्लो आइतबार मात्रै बहराइनबाट काठमाडौं आएका नेत्र चिकित्सक डा.सन्दुक रुइत एकरात मात्रै राजधानीमा बसेर पूर्वी पहाडी जिल्ला तेह्थुम आएका रहेछन् । ६ महिनाअघिको तालिकामा टुङ्गो लागिसकेको तेह्रथुमको वसन्तपुर र ताप्लेजुङको तापेथोकमा आँखा शिविर राख्न डा.रुइत धपेडीमाझ पूर्व आएका रहेछन् ।
‘जसरी भए पनि आफ्नो जन्मथलो ओलाङचुङगोला पुग्नेछु भन्ने अठोट थियो, त्यहाँ पुगेर आस्थाको धरोहर डिकीछोलिङ दर्शन गर्न पाएकोमा धन्य सम्झेको छु,’ गोलामा एक रात मात्रै बसेर मंगलबार तापेथोक झरिसकेका डा.रुइतले भने, ‘आफूले बिताएको बाल्यकाल र त्यो समयदेखिका आफन्तको स्मृतिमा म भावुक बनेको थिएँ ।’
तापेथोकको आँखा शिविरको पहिलो चरणको काम सकेपछि र ७० जना जिल्लाबासीको मोतिबिन्दु शल्यक्रियापछि माथि गोलाबाट आएका तीनजना आँखाका बिरामी साथैमा लागेर सन्दुक बाटा लागेका थिए । तापेथोकबाट इलाडाँडासम्म झन्डै २ घण्टा गाडीको बाटो र त्यहाँबाट झण्डै ९ घण्टाको पैदल उकालिएपछि सोमबार अपरान्ह सन्दुकको टोली गोला पुगेको थियो । आफ्नै गाउँमा जन्मे–हुर्केका डाक्टर बन्द भएका आँखा खोलिदिन तल गाउँमा आएको छ भनेर गोलादेखि ८४ वर्षीय डन्डु शेर्पा, ६८ वर्षीया छिरिङ्किपा र ५० वर्षे चुन्दा शेर्पा पनि तापेथोक झरेका थिए ।
‘हाम्रो गाउँका प्रतिष्ठा र संसारले चिनेको आँखाको डाक्टर आफ्नै गाउँ सम्झेर यसरी दुःख गर्दै आइदिएकोमा हामीसँग धन्यवाद भन्ने शब्दै थिएन,’ओलाङचुङगोला क्षेत्र समेटिने फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन वलुङ(शेर्पा)ले कान्तिपुरसँग भने, ‘डा.रुइतको सम्मानमा र उनलाई हेर्न/छुनका लागि सिंगो गोला उल्टिएको थियो ।’ सन्दुकका साथमा उनकी श्रीमती नन्दा, जेठी छोरी सेराब्ला र सन्दुकका साथैमा रहेर ३ दशकयता फोटोग्राफीको काम गर्दै आएका विख्यात फोटोग्राफर माइकल एमेन्डोलियासमेत गोला पुगेका थिए ।
वडाध्यक्ष छेतेनका अनुसार, डा.सन्दुकले दिकीछोलिङ गुम्बामा पाठपूजा गर्नाका साथै गोलाबासीसँग बसेर स्थानीय तहमा गर्नुपर्ने सहयोगका बारेमा छलफल गरेका थिए । स्थानीय तहमा रहेका सञ्चारको टुजी सेवालाई फोरजी बनाउन पहल गर्ने, टेलिमेडिसिन पद्धति विस्तारमा छलफल गर्ने, टिपताला नाका खोल्नमा परामर्श गर्ने जस्ता काममा गोलाबासीको साथ–सहयोग लिएर आउने दिनमा केही गर्ने आश्वासन दिएका थिए सन्दुकले । गोलाबासी झन्डै २ सय बासिन्दामध्ये अधिकांश सन्दुकलाई हेर्न र सुन्न भेला भएका थिए । ताप्लेजुङ जानुअघि डा.सन्दुकको टोलीले तेह्रथुमको वसन्तपुरमा आँखा शिविर राखेर २ सय २३ आँखा बिरामीको शल्यक्रिया गरेको थियो ।
आजभन्दा ६८ वर्षअघि यही विकट भूगोलमा जन्मेहुर्केका डा.सन्दुकले पढाइगुनाइका लागि ७ बर्षे उमेरमा गाउँ छाडेका थिए । त्यसपछि २०२२ सालतिर गोलामा आएको तमोरको बाढीले उनको घर भत्काएपछि उनका बाआमा तेह्रथुमको वसन्तपुरतिर बसाइँ सरेका थिए । ‘जीवनयात्राको, संघर्ष र सपनाको कुरा हरेकमा हुन्छ,’गोला पुगेपछि डा.सन्दुक निकै भावुक पनि बनेका थिए, ‘जीवनमा अरु कुरा भुलौंला, अथवा अरुतिरै लागौंला । तर, यो मेरो जन्मथलोलाई सपना–विपनामा सँगै लिएर हिँडेको हुन्छु । धन्य, आज धेरै वर्षपछि मैले मेरो गोलाको माटो छुन पाएको छु ।’-Ekantipur