फुङ्लिङ- ताप्लेजुङमा सम्पन्न उपमेयर कप महिला फुटबलको उपाधी आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । फुङ्लिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधी हात पारेको हो । बुधबार सम्पन्न खेलमा जितका लागि आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ र प्रिती गुरुङले गोल गरिन् । यता फुङ्लिङको तर्फबाट विनिता खवासले गरेको गोल नै सान्तवना गोल बन्यो । उनले पहिलो हापको १४ औँ मिनेटमा नै खाता खोलेकी थिईन् । सुरुवाती अग्रता लिएको नगरपालिकाले अग्रता कायम राख्न सकेन ।
उपाधी हात पारेको आठराई त्रिवेणीले नगद १ लाख ११ हजार सहित ३ वर्षे रनिङ कप र प्रमाणपत्र पाएको छ । यता उपबिजेता बनेको फुङ्लिङले नगद ५५ हजार ५ सय रुपँैया सहित मेडल र प्रमाण पत्रमा चित्त बुझायो । रनिङकप १ सय तोला चाँदी र आधा तोला सुन जडित हुने आयोजकले जनाएको छ । सान्तवना बनेका मेरिङदेन गाउँपालिका र सिरिजंघा गाउँपालिकालाई नगद ९ हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।
विद्यागत पुरस्कार तर्फ बेष्ट डिफेन्डरमा फुङ्लिङकी अनुसार थेबे, मिडफिल्डरमा आठराई त्रिवेणीकी रेश्मा थलङ, किपिङमा आठराई त्रिवेणीकी एलिसा लिम्बू, फर्वाडमा फुङ्लिङकी सुजता पालुंवा बनिन् । यस्तै उदयमान खेलाडीमा फुङ्लिङकी विनिता खवास र बेष्ट प्लेयरमा आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ नगद सहित सम्मानित भए ।
महिलालाई समाजमा थप सशक्त बनाउन खेल क्षेत्रमा उनिहरुको सहभागिता वृद्धि गर्ने उद्धेश्यले नारी दिवशको अवशरमा प्रतियोगिता आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले बताईन् ।