शिक्षकको पेशागत विकास तालिम ताप्लेजुङमा सुरु - Epathivara

 ताप्लेजुङ । शिक्षकको पेशागत विकास तालिम (टिपीडी) ताप्लेजुङमा सुरु गरिएको छ । जिल्लाको फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका २० जना शिक्षकलाई प्रदान गरिने १५ दिने तालिम मंगलबारबाट सुरु गरिएको हो । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोग तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको आयोजनामा आफ्नो कार्यक्षेत्रमा पर्ने विद्यालयका लागि तालिम सुरु गरिएको रीड नेपालका जिल्ला प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिए । प्रबन्धक पन्तका अनुसार १० दिन प्रत्यक्ष प्रशिक्षण र ५ दिन विद्यालयमा गई अभ्यास गर्नुपर्नेछ ।

शिक्षक तालिम केन्द्र इनरुवाका शाखा अधिकृत रेवन्त बस्नेतका अनुसार पेशागत विकास सम्वन्धी नतिजा सहितको प्रमाणपत्र प्राप्त नभएसम्म शिक्षकको व्यक्तिगत फायल खडा हँुदैन । तालिमको प्रत्यक्ष प्रशिक्षण र सम्वन्धित बिद्यालयमा गई तालिम सिकाईको अभ्यासमूलक कार्यको योगफलका आधारमा मूल्याङकन गरी प्रमाणपत्र दिने गरी तालिम सुरु भएको हो । तालिम सकिएको ४५ दिन भित्र परियोजना कार्य सम्पन्न गरी प्रतिबेदन पेश भएपछि नतिजा प्रकाशन गरिने बस्नतेले जानकारी दिनुभयो । रिडको कार्यक्षेत्र फक्ताङलुङ गाउँपालिकाका ९ वटा विद्यालय र सिरिजङ्गा गाउँपालिकाको ३ विद्यालयका आधारभुत तहका शिक्षकहरुको सहभागिता रहेको छ ।

 

कोशी प्रदेशको शिक्षक तालिम केन्द्र इनरुवाले आफ्नै क्षेत्रमा सेवाकालिन तालिम लिन पाउनु ताप्लेजुङका शिक्षकका लागि भाग्यको बिषय भएको बताएको छ । शाखा अधिकृत बस्नेतका अनुसार यस्तो प्रकृतिको तालिम लिन सजिलो छैन । कोशी प्रदेशमा बर्षभरीमा आधारभूत तहका बढीमा १ सय जना शिक्षकका लागि यस्तो तालिमको कोटा भएको र त्योपनि ताप्लेजुङ सहितका हिमाली तथा पहाडी जिल्लाहरुमा आयोजना हुन कठिनाई भएको बेला रिड नेपालले तालिम आयोजना गरेर स्थानीयलाई मौका दिएको भन्दै उहाँले रिडको कार्यशैलीको प्रशंसा गर्नुभयो । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार नेपाल सरकार र रिड नेपालकाबीचमा सन् २०१४ मा सम्झौता भएको छ । सम्झौता अनुसार सम्वन्धित प्रदेशको शिक्षक तालिम केन्द्रको सहकार्यमा रिडले प्रदान गर्ने यस्तो तालिमको समग्र मूल्याङ्कनका आधारमा नतिजा सहितको प्रमाणपत्र दिने, यस्तो प्रमाणपत्र सरकारी निकायले प्रमाणीकरण गर्ने र त्यस्तो प्रमाणपत्र सरकारी निकायले जारी सरह हुने छ ।

अघिल्लो आर्थिक बर्षमा ५७ जनालाई तालिम दिएकोमा तालिमका सहभागीमध्ये १९ जनाले मात्र प्रमाणीकरण सहितको प्रमाणपत्र प्राप्त गरेको रिड नेपालले जनाएको छ । रिड नेपालमार्फत अहिले सम्म ताप्लेजुङका ८५ जनाले यस्तो तालिम पाएको रिडका प्रवन्धक पन्तले बताउनुभयो । रिड नेपाल ताप्लेजुङमा सन् २००६ देखि कार्यरत रहेको छ । रिड नेपालका दुर्गम हिमाली र पहाडी जिल्लाको शिक्षा क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर