ताप्लेजुङ — फुङलिङ–११ फावाखोलाका मदनबहादुर भट्टराईले गाईभैंसी, साँढे र गोरुसमेत गरी ४३ चौपाया पालेका छन् । यीबाहेक उनको गोठमा बाख्रा पनि छन् । चौपाया रुङ्न सहज होस् भनेर नौवटा गाईभैंसी छानेर फरक आवाज दिने घण्टी झुन्ड्याइदिएका छन् । चरनमा छोडिने चौपायाले आफ्नै गलामा आफ्नै रुँगालो बोकेका हुन् ।
जिजुबाजेले खोटाङबाट ल्याएको गोठलाई पाथीभरा फेदीमा राखेर निरन्तरता दिँदै आएका घनेन्द्र विष्टले पनि घण्टी झुन्ड्याएर बाख्रादेखि गाईभैंसीसम्म पालेका छन् । एक जनाले एक सयको हाराहारीमा चौपाया हेर्ने उनको मुख्य सारथि भनेको घाँटीमा बाँधिएको घण्टी हो । हिमाली तथा पहाडी जिल्लाका हरेकजसो गोठमा पुग्नेले चौपायाको गलामा यो झुन्ड्याएको देख्न र आवाज सुन्न पाउँछन् ।
मदनका अनुसार धेरैलाई पछि लगाएर समूहको नेतृत्व गर्ने, चरनमा गएपछि फर्कन नचाहने, गर्भवती भएका चौपायालाई झुन्ड्याइन्छ । यसबाहेक बदमासीको सूचीमा रहेकाहरूलाई पनि घण्टी बाँधिन्छ । ‘चरनमा गएको सुत्केरी हुने वस्तु उतै ब्यायो भने घण्टीकै मद्दतबाट पत्तो पाइन्छ,’ मदनले भने, ‘बाक्लो गरी सकस परेको जस्तो आवाज आयो भने त्यतातिर दौडिइहाल्नुपर्छ ।’
हरेक चौपायाको गलाबाट निस्कने आवाज गोठालोलाई कण्ठ हुने घनेन्द्रको दाबी छ । ‘कहिलेकाहीँ वन्यजन्तुले पनि आक्रमण गर्छन्, त्यतिबेला आत्तिएको, प्रतिकार गरेको, भागेको आवाज आउँछ,’ घनेन्द्रले भने,‘त्यो सुन्नेबित्तिकै त्यसको उद्धारका लागि दौडिनुपर्छ ।’
घण्टीलाई ध्यानमा राखेर बसे मात्रै पनि गोठ रुङ्न सकिने उनको तर्क छ । ‘बानी परेका हुन्छन, धेरै त बेलुका भएपछि फर्कन्छन्,’ विष्टले थपे,‘नफर्कनेलाई घण्टीको संकेतका आधारमा खोज्न जानुपर्छ ।’ भीरबाट लडेकोसम्म पनि घण्टीको सन्देशबाट पत्तो पाइने गोठालाहरू बताउँछन् ।
यस्ता घण्टीहरू पहिला चीनको तिब्बतमा मात्रै पाइन्थ्यो । अहिले नेपालमा पनि बनाउन थालिएको छ । तर हलुङ्गो हुने र मज्जाले आवाज दिएर बज्ने भएकाले गोठालोको रोजाइमा तिब्बतबाट ल्याइने पर्छन् । याङमा, ओलाङचुङगोला र पापुङमा चौंरीको गोठ राख्नेले तिब्बतबाट ल्याउने र आफूहरूले उनीहरूबाटै खरिद गर्ने मदन बताउँछन् ।
एउटा घण्टीलाई १ हजारदेखि १० हजारसम्म मूल्य पर्ने गरेको मदनले बताए । यसको प्रयोग कसले र कहिलेदेखि सुरुवात गरेको यकिन तथ्यांक कसैसँग छैन । उच्च हिमाली क्षेत्रमा पालिने चौंरीको गोठबाट आएको मानिन्छ । ‘किनिएको हिसाबले यो तिब्बतबाट आएको हो जस्तो लाग्छ,’ चौंरीपालक दाबा भोटेले भने, ‘हामीले जान्दैदेखि झुन्ड्याइएको देखेका थियौं ।’
अगुवा चौंरीलाई लगाउने टायर पेटीलाई एक लाख रुपैयाँसम्म पर्ने दाबा बताउँछन् । एउटा पेटीमा आठ घण्टी लगाइएको हुन्छ । यसलाई च्याक्सा भनिन्छ । च्याक्सा लगाएको चौंरी सबैभन्दा अगाडि हिँड्छ र अरू त्यसको पछिपछि लाग्छन् ।
चौंरीको गोठमा च्याक्सा र घण्टी अनिवार्य चाहिन्छ । ‘गोठ सारेको समयमा च्याक्सा लगाएपछि मात्रै अरू चौंरी, याक पछिपछि लाग्छन्’ दावाले भने, ‘नत्र त कोही जंगलतिर पस्छन्, कुनै अन्यत्र कुदेर खेदाउनै सकिँदैन ।’ च्याक्सा लगाइदिएपछि अगुवा चौंरी आफैंले म नेता हुँ भन्ने बुझ्ने र बाटो खेदाएर हिँड्ने दाबा बताउँछन् ।