ताप्लेजुङ । युवाहरुलाई सीप प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले ताप्लेजुङमा सञ्चालित ६ महिने ग्राफिक डिजाइन तालिमको पहिलो व्याच दिक्षित भएका छन् । ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) को आर्थिक सहयोग तथा भानुजन माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिममा सहभागी ३५ मध्ये २१ जनालाई मंगलबार प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रमाणपत्र निर्माणाधिन आईटी एकेडेमीका डोनर वल्डोमर स्मिथले वितरण गरे । तालिमको सहजिकरण लर्नीओ एकेडेमी बंगलादेशले गरेको एचपीएफ ताप्लेजुङका टीम लिडर अमित श्रेष्ठले जानकारी दिए । तालिममा एकेडेमीका प्रमुख अनिक हुसेन र नेपाली प्रशिक्षक अमनलाल श्रेष्ठले सहजिकरण गरेका थिए ।
पहिलो चरणमा ३५ जना प्रशिक्षार्थी सहभागी भएका थिए । ६ महिने कोर्षको पहिलो ३ महिना ग्राफिक डिजाइनबारेमा प्रशिक्षार्थीलाई अवगत गराइएको थियो । १ महिना रोजगारीको खोजी कसरी गर्ने तथा रोजगार दिने माध्यम वा केन्द्रको पहिचान गर्ने तरिकाबारे अवगत गराइने छ । बाँकी २ महिना भने रोजगारी पाएको छ कि छैन भन्ने बारेमा नियमित फलोअपसहित रोजगारी पहिचानका सम्भावित उपायका बारेमा सहभागीलाई जानकारी गराईएको प्रशिक्षक अमनलाल श्रेष्ठले जानकारी दिए ।
प्राविधिक सहयोग गरेको लर्नीओ एकेडेमीमार्फत विश्वका १६ देशहरुमा अहिले ग्राफिक डिजाइन सम्बन्धी तालिम र प्रशिक्षणहरु भइरहेका छन् । अहिलेसम्म १६ हजार विद्यार्थीले यो तालिम लिएको एकेडेमीका अनिक हुसेनले बताएका छन् । तालिम ताप्लेजुङ जिल्लाकै इतिहासमा पहिलो पटक सुरु भएको थियो । एचपीएफले भानुजन माविमा ‘आईटी हव’ का लागि सहयोग गरेको छ । एचपीएफले त्यहाँ विद्यालयको समेत आर्थिक साझेदारीमा आइटी केन्द्र निर्माण गरिरहेको छ ।
यसैविच पहिलो चरणमा तालिम लिएका केहि प्रशिक्षार्थीले जागिर पनि पाएकाछन् । विश्वका प्रतिष्ठित कम्पनीमा ग्राफिक डिजाईनरका रुपमा प्रशिक्षार्थी कर्मचारीका रुपमा काम पाएको बताईएको छ । हाल डिजिटल मार्केटिङ सम्बन्धी तालिम पनि सञ्चालन भईरहेको छ ।