ताप्लेजुङ। ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आउँदै हुनुहुन्छ । यहाँका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको काभ्रे सरुवा भएसँगै गृह मन्त्रालयबाट गोमा चेम्जोङ ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आउँदै हुनुहुुन्छ ।
अहिले सम्म ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी महिला नभएपनि सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलो पटक गीताकुमारी राई र गायत्रा अधिकारी खड्काले भूमिका निर्वाह गर्नु भएको थियो । यसअघि भोजपुर र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालि सक्नु भएकी चेम्जोङ ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आउन लाग्नु भएको हो ।
ताप्लेजुङमा अब जिल्ला न्यायाधीस निर्मला योङ्यासंगै पहिलो पटक महिलाले प्रमुख जिल्ला अधिकारीको कमाण्ड सम्हाल्ने छन् । न्यायाधीस योङ्या पनि ताप्लेजुङमा पहिलो पटक महिला जिल्ला न्यायाधीसको रुपमा आउनु भएको हो । उता उपसचिव स्तरका कर्मचारीले नेतृत्व सम्हालेयता जिल्ला सरकारी वकिल कार्यालयमा पनि पहिलो पटक महिलाले नेतृत्व सम्हाली रहेका छन् । अहिले जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख मौना सिंहले जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।
६ महिनामा सोह्रसय बढीले पाए नयाँ नागरिकता
यसैबीच जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक बर्षको ६ महिनामा १ हजार ६ सय बढी नागरिकता बितरण गरेको छ । चालू आवको पुस महिना सम्ममा १ हजार ६ सय ३२ थान नयाँ नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । पुस महिनामा मात्र ३ सय ७७ थान नागरिकता बितरण गरेको प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै १ हजार ३ सय २७ थान नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले १ हजार ७ सय राहदानी बितरण गरेको छ भने ४ सय ९ थान राहादानीको द्रुत सिफारिस गरेको छ । त्यस्तै २ हजार ३ सय ८० थान राहदानीको साधारण सिफारिस गरेको समेत प्रशासन कार्यालयले बताएको छ ।