ताप्लेजुङमा बिहीबार दिउँसो भएको आगलागीबाट ७२ लाख बढीको क्षति - Epathivara

कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको पापुङमा आज (बिहीबार दिउँसो) एक घर र मतानमा आगलागी हुँदा करिब ७२ लाख रुपैँया बढीको क्षति भएको छ ।

 

मिक्वाखोला गाउँपालिका ५ पापुङथित सिम्बुकका स्थानीय पासाङ थुण्डुक शेर्पाको घर र मतान जलेर पुर्ण रुपमा नष्ट हुँदा ७२ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ७ तोला सुन, ५० तोला चाँदी, तामाका भाडाकुँडा, गाग्री, थाल, लत्ताकपडा, खाद्यन्न लगायको सामाग्री जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो । ढुङगा–माटोले निर्मित जस्ताको पाताले छाएको तीन–तीन तले घर र मतान जलेर पुर्ण रुपमा नष्ट भएको पापुङका वडाध्यक्ष ग्याल्जे शेर्पाले जानकारी दिनुभयो ।

 

दिउँसो करिब १ बजेको समयमा घरमा कोही नभएको समयमा आगलागी भएको स्थानीयले बताएका छन् । बिहान भान्साकोठामा खाना पकाउँदा प्रयोग गरिएको आगो राम्रोसँग ननिभेको कारण आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान रहेको छ ।
ताप्लेजुङमा निरन्तर आगलागीका घटना भने भईरहेका छन् । केही अगाडिमात्र फुङलिङ, थिलङलाबु, हाङदेवा लगायतका क्षेत्रमा आगलगीबाट घर जलेर नष्ट हुँदा लाखौँ मुल्यको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर