ताप्लेजुङ । ताप्लेजुङमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ३२ औं स्थापना दिवसको अवसरमा एसईईमा जिल्ला प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको छ । २०७८ सालको एसईई परिक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान गरीएको हो ।
प्याब्सनको ३२ औं स्थापना दिवसको अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा एसईईमा जिल्ला प्रथम हुन सफल रुपा गुरुङलाई ५ हजार नगदसहित सम्मान गरिएको हो । फुङ्लिङस्थित लिटल बुद्ध आवासीय बोर्डिङ स्कुलबाट २०७८ को एसईईमा सामेल भई ३.७० जीपीए प्राप्त गरि गुरुङ जिल्ला प्रथम हुनुभएको थियो ।
दिवसकै अवसरमा लामो समयसम्म निरन्तर निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध एक शिक्षकलाई समेत सम्मान गरिएको प्याब्सन जिल्ला अध्यक्ष गणेश सिग्देलले बताउनुभयो । फुङ्लिङस्थित कञ्चन एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै अाउनुभएका शिक्षक लक्ष्मी भट्टराईलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
प्याब्सन दिवसको अवसरमा सम्मानित हुने विद्यार्थी र शिक्षकलाई प्रदेश १ का प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाम र फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सम्मान गर्नुभएको थियो । त्यस्तै दिवसकै अवसरमा फुङ्लिङ नगरपालिका –४ स्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सुस्तश्रवण तथा फरक क्षमता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराएको प्याब्सनका जिल्ला उपाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
यता, विद्यार्थी शिक्षक सम्मान तथा शैक्षिक सामग्री वितरणसँगै कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । दिवसका असरमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख, शैक्षिक सङ्घसंस्थाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललगायतले शुभकामना दिनुभएको प्याब्सनका जिल्ला सचिव तरुण भारतीले जानकारी दिनुभयो ।