ताप्लेजुङ: ताप्लेजुङको एक प्रतिनिधि सभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।
प्रतिनिधिसभा तर्फको मतगणना सकिए लगत्तै बुधबार साँझबाट दुई वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु गरिएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भए । उनी प्रतिनिधि सभामा दोस्रो पटक निर्वाचित भएका हुन ।
भट्टराईले गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाइ २०८ मतको अन्तरले पराजित गरेका हुन । कुल खसेको ४८ हजार २ सय ९३ मध्ये भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका थिए ।
यता प्रदेशसभा क्षेत्रको मत परिणाम अनुसार क्षेत्र (क) मा नेकपा एमालेका तिलकुमार मेन्याङ्बो भारी मत सहित निर्वाचित भएका हुन । गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका खेमबहादुर वनेमलाई ४ हजार ३९ मतको अन्तरले पराजित गरे ।
प्रदेश क मा खसेको खसेको कुल २५ हजार ६७६ मध्ये तिलकुमार मेन्याङ्बोले १२ हजार ७७२ मत प्राप्त गरेका हुन भने वनेमले ८ हजार ७३३ मत प्राप्त गरे ।
त्यसैगरी प्रदेशसभा क्षेत्र (ख) मा भने नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम निर्वाचित भए । नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २ सय ४८ को मतान्तरले पराजित गर्दै हाङ्गाम निर्वाचित भएका हुन् ।
खसेको कुल २१ हजार ८०७ मत मध्ये हाङ्गामले १० हजार ४९६ मत प्राप्त गरे भने थोप्राले ९ हजार २४८ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिईन् । यता संघ र प्रदेशको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको मत गणना गर्ने तयारी भएको छ ।