काठमाडौँ — ताप्लेजुङको ओलाङचुङगोलामैं जन्मे–हुर्केका पेमा ग्यापो (छिरिङ तोग्याल) अहिले अमेरिकामा बस्छन् । मुखैमा आएको फुटुक पर्वका अवसरमा आफ्नो जन्मथलो जाने भनेर अमेरिका, बेलायत, क्यानडामा बस्ने २० भन्दा बढी ओलाङचुङगोलाका सन्तती अहिले काठमाडौं आइपुगेका छन् ।
ओलुङ कम्युनिटी अफ नर्थ अमेरिकाका अध्यक्ष छुङ्दा उक्याब पनि यही मेसोमा घर फर्किएका छन् । क्यानडाबाट छुम्दे लामा र बेलायतबाट याङ्ला रुइत पनि गोला जानलाई ‘वालुङ टुर–२०२२’को झोलातुम्वी बोकेर बाटा लागेका छन् ।
‘कोही चुनाव भनेर गाउँ फिर्लान्, कोही गाउँको न्यास्रोमा गाउँ फिर्लान्,’बौद्धस्थित ओलाङचुङ समाज कल्याण परिवारको कार्यालयमा भेटिएका उक्याबले सुनाए, ‘हामी भने अमेरिका, बेलायत, क्यानडा र अरु बाहिरी मुलुकमा रहेका ओलाङचुङगोलावासी अहिले फुटुक चाडका अवसरमा गोला फिर्दैछौं । परम्परा र धर्ममा जोडिएको चाड सकेसम्म आफ्नै गाउँठाउँमा मनाउने भनेर हरेक वर्ष यसैगरी हुल बाँधेर आइरहेका छौं ।’
गोलामा रहेको प्राचीन र पुरातात्विक महत्त्वको दिकीछोलिङ गुम्बाको व्यवस्थापनसहित संयोजनको जिम्मेवारीमा रहेका मिङ्मा उक्याव, परिवारका अध्यक्ष दावा छेतेन शेर्पासहितका सदस्य भने विदेशबाट आएका ओलाङचुङगोलावासीलाई गोलासम्मको यात्राका लागि व्यवस्थापकीय संयोजनको काममा व्यस्त देखिन्थे ।
विदेशबाट आएका २ दर्जनभन्दा बढी गोलाका गाउँलेहरू मंसिर पहिलो सातादेखि गाउँकै फुटुक पर्वमा व्यस्त रहेछन् । २५ वर्षअघि स्थापित परिवारसम्बद्ध थोक्तेन उक्याबका अनुसार, ओलाङचुङगोलामै जन्मे हुर्केर काठमाडौंवासी बन्ने परिवारको संख्या १ सय ८० नाघेको छ । यसरी, अमेरिका, बेलायतसहितका मुलुकमा १ सयभन्दा बढी परिवारको बसोबास छ ।
ओलाङचुङगोला भेगसमेत समेटिने फक्तालुङ गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष छेतेन वलुङ(शेर्पा)का अनुसार, अहिले गोलामा निकै राम्रो चहलपहल बढेको छ । गोलासम्म पुग्ने सडक बाटो सुरु भइनसकेको अवस्थामा ताप्लेजुङ सदरमुकाम फुङलिङबाट झन्डै ३ दिनको यात्रा पूरा गरेर भए पनि गोलावासी गाउँ फर्किएका छन् । बौद्धमार्गी वलुङ समुदायको फुटुक पर्व आइतबारबाट सुरु भएको छ ।-Ekantipur