पाँचथर — पाँचथरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका मतदान केन्द्रसँगै मतगणनास्थलको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।
जिल्लास्थित १ सय ३ वटा मतदानस्थलमा रहेका १ सय ७७ वटै केन्द्रमा पुगेका कर्मचारीले शुक्रबार बिहानैदेखि मतदानस्थल व्यवस्थापन गरेका हुन् । अधिकांश स्थलमा बारबेर गर्ने काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार मतदान केन्द्रसँगै गणनास्थलको व्यवस्थापन पनि सम्पन्न भएको छ । यसपटकको मतगणना सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समिति अगाडि रहेको कर्भड हलमा गरिनेछ ।
गणनास्थलमा तारजाली लगाउनुका साथै सुरक्षा पोष्ट, मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको छ । गणनास्थलमा सीसी क्यामेरासहित सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेको भनाइ छ ।