छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन दिँदैनाैँ : गृहमन्त्री - Epathivara

गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाकाहरू सुव्यवस्थित गर्न सरकारले काम गरिरहेको बताएका छन्। कांग्रेस नेता तथा रुपन्देही-३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका खाणले यस्तो बताएका हुन्।

उनले भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन पनि नाका व्यवस्थित गर्न जरुरी रहेको बताए।

उनले मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुकविरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।

उनले भने, ‘मुलुुकको आन्तरिक सुरक्षाका साथै छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि हुन नदिन पनि नाकाहरू व्यवस्थित गर्नुपर्छ। यसका लागि सरकारले काम गरिरहेको छ। निर्वाचनलगत्तै सबै सीमानाका व्यवस्थित गर्ने काम सुरु हुन्छ।’

उनले नाका व्यवस्थित गर्ने कार्यको सुरुवात रुपन्देहीको बेलहियाबाट गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। नाका व्यवस्थित गराउन निर्माण गर्नुपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्नेसमेत उनले बताए।

बेलहियामा बन्ने आइसिपी निर्माणका लागि सरकारले कूटनीतिक र राजनीतिक रूपमा पहल गरिरहेको जानकारी दिए। ‘नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आइसिपी निर्माण हुने हो। यसका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ।’

अधुरो रहेको बेलहिया–बुुटवल व्यापारीमार्गअन्तर्गत बेलहिया खण्डको अपुरो सडक निर्माण तीन–चार महिनामै सम्पन्न हुने उनले दाबी थियो।

प्रतिक्रिया

सम्बन्धित खवर