गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाट पछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रवार प्रहरीले थप ८९ थान सुनका गहना फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रमुख(डिएसपी) कैलाश राईले एउटा बट्टामा रहेको सुनका गहना फुङलिङ वडा नं ४ स्थित एक झाडी जंगलमा फोहोर थुप्रोको भित्र बोरामा प्याक गरी लुकाईएको अवस्थामा फेला पारेको जानकारी दिए। ‘थप फेला परेको सुनको परिणाम कति हो भनेर निकालिरहेका छौं,’डिएसपी राईले भने। प्रहरीले लुुटपाटका सबै चार आरोपीहरुलाई नियन्त्रणमा लिइसकेको छ।
यसअघि प्रहरी आरोपीको साथबाट बरामद गरिएको १ सय ४३ तोला सुनका गरहगना र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित सार्वजनिक गरिएको थियो। लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन्।
श्रेष्ठबाट हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ। आरोपितहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोल समेत देखाएर नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेर लगेका थिए। घटनाको थप अनुसन्धानका लागि प्रहरीको प्रादेशिक अनुसन्धान टोली फुङलिङमा रहेको छ।