ताप्लेजुङका युवाहरुलाई जिल्ला स्तरिय मकै प्रसोधन तालिम प्रदान - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङका युवाहरुलाई जिल्ला स्तरिय मकै प्रसोधन तालिम प्रदान गरिएको छ ।

 

प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वय ईकाइ ताप्लेजुङको आयोजनामा तीन दिने तालिम प्रदान गरिएको हो । मकै जोन परियोजना सञ्चालनमा रहेका जिल्लाका २० वडाका ३० जनाको सहभागितामा तालिम प्रदान गरिएको कार्यालय प्रमुख काशीराम पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेका अनुसार हरियो मकैका परिकारहरु, कर्न चाट, स्थानीय गुलियो मकैको केक, कुरकुरे शिशु मकै चिल्ली लगायतका परिकार बनाउन सिकाईएको हो । तालिमको सहजिकरण कृषी अनुसन्धान केन्द्र धनकुटा पाख्रिबासका डाक्टर हिमाल प्रसाद तिमल्सीना र फक्तबहादुर बडुवालले गरेका थिए ।

 

 

समापन समारोहमा बोल्दै तालिममा सहभागी राजु नेपालीले स्थानीय उत्पादनलाई फरक फरक स्वादमा तयार गर्न सके स्थानीयको आर्थिक उपार्जनमा समेत थप टेवा पुग्ने बताए । यस्तै प्रशिक्षक तिमल्सीनाले ताप्लेजुङ जिल्ला मकै उत्पादनको हिसाबले धेरै सम्भावना भएको जिल्ला भएकाले यसलाई थप परिकार उत्पादन र बजारिकरणमा ध्यान दिनुपर्ने बताए । फुङ्लिङ नगरपालिकाका प्रमुख अमीर मादेनले स्थानीय युवाई तालिम प्रदान गरेको प्रति आभार प्रकट गर्दै नगरपालिकाले पनि यस्तै किसिमका सिप विकास सम्वन्धी तालिमलाई सञ्चालन गर्ने प्रतिवद्धता जनाए । साथै नगरपालिकाले आयोजना गर्ने तालिममा यो तालिम लिएका जनशक्तिलाई नै प्रयोग गर्ने आश्वाशन दिनुभयो । “हाम्रो जिल्ला पर्यटकिय हिसाबले पनि संभावना बोकेको जिल्ला हो ।

 

 

त्यसैले यहाँकै मकैबाट विभिन्न किसिमका परिकार बनाएर पर्यटकलाई खुवाउन सके आर्थिक उपार्जन पनि गर्न सक्छन् ।” मेयर मादेनले भने “ अहिले हाम्रा युवाहरु विदेश तिर बढि जाने गरेकाछन् । यस्ता सिपविकास तालिम प्रदान गरेर युवालाई देशमै राख्नुपर्छ ।” समापन समारोहमा सहभागीले तयार गरेको परिकार चखाईएको थियो । स्वाद लिने अधिकांसले राम्रो प्रतिक्रिया दिएको कार्यालयका प्राविधिक नरेन्द्र कुमार विष्टले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर