पाँचथर — मेची राजमार्गको दायाँबायाँ केही भिरालो र पारिलो जमिनमा कोही माटो खन्दै छन् । कोही चाल्न, बोरामा हाल्न र प्याक गरेर राजमार्गमा बोक्न व्यस्त छन् । पाँचथरको फिदिम–४ चारखम्बे क्षेत्रमा यसरी निकालिएको रातो माटो ताप्लेजुङ र तेह्रथुमका ग्रामीण बस्तीका ग्राहकलाई बेच्न व्यवसायी राजमार्गमा लामबद्ध बसेका छन् ।
बाटोका भित्तामा छपक्क मिलाएर राखेका बोराको माटो किन्ने ग्राहक र बेच्नेको व्यस्तता अचेल झनै बढेको छ । ‘फिदिम आसपासको रातो माटोले लिपेका घर उज्याला र चम्किला देखिने भएकाले बर्सेनि दसैंमा यहींबाट उठाउँछौं,’ स्थानीय व्यसायी सागर गोले तामाङले भने । उनी ताप्लेजुङ आठराई त्रिवेणीबाट आएका हुन् । पहाडी क्षेत्रमा ढुंगामाटोले बनेका घर लिपपोतमा रातो माटो प्रयोग गर्ने चलन छ । दसैंतिहारका बेला घर चिटिक्क बनाउने परम्पराले यहाँको माटोको माग बढेको हो ।
छिमेकी ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका ग्राहक माटो किन्न आइपुग्ने भएकाले चाडबाड नजिकिँदै जाँदा स्थानीयको दौडधुप पनि बढेको छ । व्यवसायीहरूले अर्डरअनुसार गाडीमा लोड गरेरसमेत माटो पठाउँछन् । यहाँको रातो माटो किन्न छिमेकी जिल्लाका गाउँबस्तीबाट ग्राहक ट्रक र पिकअप भ्यान लिएर आउँछन् । अरू कामले बजार आएकाहरू पनि एक–दुई बोरा लिएरै फर्कर्न्छन् ।
पछिल्लो समय बस्तीबस्तीमा मोटरबाटो पुगे पछि ढुवानी गर्न सहज भएसँगै यहाँको माटोको बजार बढेको छ । ‘दसैं आउन महिना अगाडि नै ग्राहकले अर्डर दिन थाल्छन्, नजिकिंदै जाँदा धेरै माग आउने भएकाले धान्न धौ–धौ हुन्छ,’ चारखम्बेकी बिक्रेता मिरा गुरुङले भनिन् । उनका अनुसार यो सिजनमा यहाँबाट दैनिक पाँच हजार बोरासम्म माटो बिक्री हुन्छ । यहाँको माटो प्रति बोरा एक सय रुपैंयाँका दरले बिक्री हुन्छ । यही माटो ग्रामीण बजारमा ग्राहकले १ सय ६० रुपैंयाँसम्ममा किन्नुपर्छ ।
थोकमा खरिद गर्न आउनेहरूले यहाँबाट प्रतिबोरा ८० रुपैयाँका दरले लैजान्छन् । प्रायः दसैं एवं तिहारमा लिपपोतमा चाहिने रातोमाटो बेचेर यहाँका स्थानीयको व्यवहार चलेको छ । चारखम्बे क्षेत्रका एक दर्जन परिवारले व्यावसायिक रूपमै माटो खनेर बेच्छन् । यो काममा ३० जनाले रोजगारी पनि पाएका छन् ।
स्थानीयले चाडबाडअगावै भदौ लागेपछि खन्न थाल्छन् । खन्न सुरु गरिए लगत्तै फाटफुट ग्राहक आए पनि सोह्रश्राद्ध र नवरात्रिमा ठूलो परिमाणमा बिक्री हुने यो व्यवसायमा संलग्नहरू बताउँछन् । माटो खनेर बेच्न स्थानीयले यहाँको जग्गा नै भाडामा लिएका छन् । सिजनमा यहाँबाट दैनिक १० गाडीसम्म माटो निर्यात हुन्छ ।-ekantipur