पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ २१ गते । पुर्व पर्यटनमन्त्री समेत रहनु भएका प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा शारीरिक रुपले अशक्त भएको विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
आज जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत मैवाखोला ५ फाकुम्बाका जीवन लिम्बूलाई अध्ययनका लागि २० हजार रुपैयाँ र एकवर्षको कोठाभाडाबापत २४ हजार रुपैँया रकम उपलब्ध गराउनु भएको हो । सचिव भट्टराईले एक दशकदेखि नै जन्मदिनको दिन विपन्न, असहाय तथा पीडितलाई सहयोग गर्दै आएको उनको सचिवालयले जनाएको छ । भट्टराईले आगामी दिनमा समेत जिवनको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जीवन पाथीभरा बहुमुखी क्याम्पसमा विएड तेश्रो वर्षमा अध्ययनरत रहेका छन् ।
यसअघि एसिड आक्रमण पीडित मुस्कान खातुन लगायतलाई पनि सहयोग गरेका थिए ।
उनको जन्म वि.स २०२३ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा भएको थियो ।