काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा कुरा मिलेको छैन।
सिट बाँडफाँटका लागि गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदलले पटक–पटक छलफल गरे पनि सहमति हुन सकेन।
कार्यदलमा दलहरू आ–आफ्नो अडानमा कायम रहँदा सहमति जुट्न नसकेपछि शीर्ष नेताहरू आफैं कस्सिएका छन्।
सिट बाँडफाँटका लागि दलहरूबीच रस्साकस्सी बढ्दै गएपछि घटक दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव गठबन्धनबाटै बाहिरिने ‘मुड’ मा देखिएका छन्। र, यसको संकेत उनले शीर्ष नेताहरूको बैठकमा दिएका छन्।
चुनावको सम्भावित परिणाम जोडघटाउ गरेका जसपा अध्यक्ष यादवले गठबन्धनबाट बाहिरिने संकेत गरेका हुन्।
उनको हिसाब छ – गठबन्धनबाट चुनाव लड्दा पनि ९ सिट जितिन्छ र एक्लै लड्दा पनि उत्तिक्कै।
त्यसैले जुनसुकै तरिकाबाट चुनावमा जाँदा पनि सामान सिट जित्ने भएकाले गठबन्धनमा बस्नुभन्दा एक्लै लड्नु उपयुक्त हुने उनको विश्लेषण छ।
बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आफ्नो पार्टीले एक्लै लड्दा पनि ९ सिट जित्ने भएकाले गठबन्धनको धेरै आवश्यक्ता नपर्ने यादवले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
जसपाले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ३२ सिटमा दाबी गरेको छ। ३२ सिटमा दाबी गरे पनि १५ भन्दा बढी नपाउने अध्यक्ष यादवको अनुमान छ।
आफूले पाउने १५ सिटमा ९ भन्दा बढी नजित्ने हिसाब यादवले निकालेका छन्। एक्लै लड्दा पनि ९ सिट जित्ने भएकाले गठबन्धनमा बसिरहन् आवश्यक ठानेका छैनन्, उनले।
‘गठबन्धनले दिने भनेको १५ सिट हो। त्यसमा पनि हामीले जित्ने ९ सिटमात्रै हो। हामी एक्लै लड्दा पनि यति सिट जित्छौं,’ जसपा अध्यक्ष यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने।
उनको अर्को हिसाब छ– गठबन्धनमा रहेर १५ सिटमा मात्रै चुनाव लड्दा पार्टीभित्र विद्रोह हुन्छ। पार्टी छाड्नेको संख्या बढ्छ।
एक्लै लड्दा योग्य आकांक्षीलाई टिकट दिन सहज हुने उनको बुझाइ छ।
गठबन्धनमा सहमति गरिसकेपछि तोकिएको भन्दा बढी सिटमा उम्मेदवार उठाउन नसकिने भएपछि रूष्ट बनेकाहरू अरू पार्टीतिर जानसक्ने विश्लेषण जसपा अध्यक्ष यादवको छ।
‘१५ सिटमा खुम्चियो भने पार्टी छाडेर जानेको संख्या बढ्छ। अरू पार्टीतिर जान्छन्। त्यस्तोमा पार्टी जोगाउन कठिन हुन्छ,’ उनले भनेका थिए,‘तर, एक्लै लड्दा पार्टी जोगाउन सकिन्छ।’