ताप्लेजुङ, भदौ १७ गते । घरेलु रक्सी (मदिरा) को प्रवद्र्धन गर्न आवश्यक रहेको प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले बताउनुभएको छ । बिहीबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजित एक कार्यक्रममा आम्दानी वृद्धिसँगै आर्थिक समृद्धिका लागि घरेलु रक्सीको प्रवर्द्धन आवश्यक भएको मन्त्री हाङगामले बताउनु भएको हो ।
परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री हाङगामले घरेलु रक्सीलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनेगरी पहल गरिरहेको बताउनुभयो । घरेलु मदिरालाई ब्राण्ड बनाई प्रवद्र्धन गर्नका लागि सांसद हुँदैदेखि पहल गर्दै आएको समेत उहाँको भनाई थियो । संघीय सरकारका श्रम तथा रोजगारमन्त्रीसँग पनि आफूले भेटेरै घरेलु मदिरा ब्राण्डिङका विषयमा छलफल गरेको पनि बताउनुभयो । उहाँले घरेलु मदिरालाई ब्राण्ड बनाई प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारले नीति निर्माणको प्रक्रिया सुरु गरिसकेको बताउनुभयो । परम्परागत मदिरालाई प्रदेश १ कै ब्राण्ड बनाउनेगरी अभियानको सुरुवात गरेको समितिका संयोजक टेकबहादुर खजुमले बताउनुभयो । संयोजक खजुमका अनुसार प्रदेश १ का विभिन्न जिल्लामा पुगेर छलफल, अन्तर्क्रिरयाजस्ता गतिविधि गरिरहेको र स्थानीयले दिएको सुझावलाईसमेत समेटिएको छ । सुझावकै आधारमा घरेलु कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने कार्यका लागि थप योजना बनाएर अघि बढ्ने तयारी भईरहेको खजुमको भनाई छ । कार्यक्रममा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति बुद्धिजीवी फाँटका संयोजक देशु वनेमले घरेलु रक्सीसम्बन्धी प्रारम्भिक अवधारणपत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणपत्र प्रस्तुत गर्नुहुँदै वनेमले घरेलु मदिराको उत्पादन तथा प्रवर्द्धनका लागि सरकारी नीति नहुँदा कच्चा पदार्थको रुपमा प्रयोग हुने कोदो लगायतका अन्न तथा मदिरा उत्पादकले आम्दानी गुमाइरहनुपरेको बताउनुभयो ।
यसैबीच ताप्लेजुङमा पनि इन्दिरा मेन्याङ्बो अध्यक्ष र पदम चेँजी माबो लिम्बू सदस्य–सचिव रहेको १९ सदस्यीय जिल्लास्तरीय परम्परागत मदिरा प्रवर्द्धन समिति गठन भएको छ । ताप्लेजुङसहित प्रदेश १ को आठवटा जिल्लामा जिल्लास्तरीय समिति निर्माण भइसकेको पनि समितिकी सदस्य सरस्वता सिंघक (सरु) ले जानकारी दिनुभयो ।