नेपाल –चीनबीच वस्तु व्यापारका लागि भन्दै ९ जिल्लाका १० नाका खुला गरिएका छन्। तर, पूर्ण सञ्चालनमा भने रसुवागढी र तातोपानी नाकामात्र थिए। ‘अहिले तत्काल सञ्चालनमा रहेका नाका भनेको तातोपानी र रसुवागढी हो। मौसमी वा हिउँ नपरेको बेलामा चल्ने भनेको किमाथांका नाका पनि हो। तर, तत्कालको अवस्थामा भने यी पनि बन्द छन्’, भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन्।
नेपाल चीन व्यापारिक कतिपय नाका २०१३–१४ सालदेखि नै खुला भएका हुन्। तर, व्यापारिक वा राजस्व संकलनका लागिभन्दा पनि दुई देशबीचको आपसी/आवातजावत र सीमानाका लागि वस्तु ओसारपसार गर्न खुला गरिएको हो। उत्तरी धेरै नाकामा बाटोको पूर्वाधार नै छैन। सुरक्षाका दृष्टिले पनि दुईदेशीय व्यापारका लागि सबल बनिनसकेको सूचना अधिकारी खड्का बताउँछन्। प्रायः नाका पुराना बार्टर सिस्टममा चलेका हुन्। अब अहिले आधुनिक अवस्थामा पूर्वाधार खडा बिना चीनले सहजै अनुमति नदिने उनको भनाइ छ। चीन पक्षले कोरला नाकामा सबै पूर्वाधार बनाएर बसेका छन्। तर, नेपाल पक्षले भने पूर्वाधार तयार गर्न सकेका छैनौं। सुरक्षाकर्मीको उपस्थिति पनि नगन्य अवस्थामा छ।
३ वर्षदेखि ओलाङचुङगोला नाका ठप्प
ताप्लेजुङको उत्तरी क्षेत्र याङ्माकी फुटि शेर्पाको माइती चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ हो। गत साउनमा उनकी आमाको मृत्यु भएको खबर पाइन्। तर, नाका बन्द भएको कारण जान पाइनन्। धार्मिक संस्कारअनुसार यतैबाट आमाको नाममा बत्ती बालिन्। भन्छिन्, ‘माइती नगएको ३ वर्षभन्दा बढी भयो।’ याङ्मामा विवाह गरी आएका धेरै बुहारीको माइती चीनको तिब्बत हो। कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि पुनः खुलेको छैन। व्यापार मात्रै नभई पारिवारिक आवातजावत पनि बन्द भएको छ।
स्थानीयले उत्पादन गरेको सामग्री निर्यात र खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको आयात पनि ठप्प छ। वार्षिक ४० देखि ५० वटासम्म याक र चौरी बिक्री गर्ने पशुपालकको व्यवसाय पनि ठप्प छ। ‘अहिले चार वर्ष भयो बिक्री गर्न पाएको छैन। व्यापार पनि ठप्प भयो,’ याङ्माका फिन्जो भोटेले भने, ‘गोठमा २ सयभन्दा बढी वस्तु भएका छन्। नुन पु¥याउनै गाह्रो भयो।’
यहाँका स्थानीय तिब्बतको रिउ बजारसँग आश्रित छन्। तर, नाका बन्द भएपछि नुनदेखि लिएर दैनिक उपभोग्य सामग्रीसमेत महँगो ढुवानी भाडा तिरेर सदरमुकाम फुङ्लिङदेखि बोकाउनुपर्ने बाध्यता छ। ‘फुङ्लिङबाट बोकाएर ल्यायो। तर, पनि वस्तुले तलको नुन सहेन, बिरामी हुने, उल्टिने जस्ता समस्या देखिएको छ,’ याङ्मा कै पशुपालक किसान छेम्जे शेर्पाले भनिन्।
अहिले याङ्मामा १ हजार, ओलाङचुङगोला क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा पाँच सय गरी २ हजारभन्दा बढी चौंरी तथा याक बिक्री गर्नका लागि तयार भएका छन्। यसअघि वयस्क याक १ लाख ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो। अन्य याक औसतमा ७० हजार रुपैयाँमा तिब्बतमा बिक्री हुने गरेको थियो। सोही दरमा हिसाब गर्ने हो भने १४ करोड बढीको याक तथा चौरी बिक्री नभई रोकिएको फुक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन लामा बताउँछन्।
पशु चौपाय मात्रै नभएर गलैंचा, जडिबुटी लगायतका सामान पनि थन्किएको छ। वडाध्यक्ष लामाका अनुसार ओलाङचुङगोलामा मात्रै ५ सयभन्दा बढी गलैंचा घरैमा छन्। महामारी अघिसम्म एकजोडी गलैंचा तिब्बतमा ३५ हजार रुपैयाँमा बिक्री हुने गरेको थियो। त्यसलाई नै आधार मान्ने हो भने ८७ लाख रुपैयाँको गलैंचा गोला मै छन्। नाका बन्द भए पनि गलैंचा उत्पादन गर्न भने यहाँका महिलाहरूले बन्द गरेका छैनन्। तर, यसका लागि आवश्यक धागो, रङ आदि सामग्री काठमाडौंबाट खरिद गर्नुपर्दा लागत बढेको स्थानीय पेमा याङ्गी शेर्पा बताउँछिन्।
बन्द भएको नाका तत्काल खोल्नका लागि पहल गरिदिन स्थानीयले माग गरेका छन्। तर, चीनतर्फबाट भने नाका खोल्ने विषयमा खासै चासो नदिएको वडाध्यक्ष छेतेनले बताए। तीन वर्षदेखि बन्द रहेको नेपाल–चीन नाका खुलाउन पहलको माग गर्दै फक्ताङ्लुङ गाउँपालिकाले गत साता जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो। गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेरै प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका थिए।
दसैंका सामग्री आयात अन्योल
नाका बन्द हुँदा नेपाली व्यापारीले चाडपर्व र जाडो मौसमका लागि ल्याउन लागेका सामग्री चीनको केरुङ र खासामा नै रोकिएका छन्। नाका सञ्चालनमा नआएका कारण लोड भएर आयात गर्न लागिएका सामग्री बिग्रन थालेको व्यापारी बताउँछन्। ‘नाका कहिले खुल्छ थाहा छैन। त्यहाँ लोड भएका लसुन, अदुवा, स्याउलगायतका सामग्री कुहिन थालेका छन्,’ तातोपानी नाकामा व्यापार गर्दै आएका दोर्जे लामाले भने। २०७१ सालअघिसम्म तातोपानी नाकाबाट सामग्री आयात निर्यात गर्न समस्या थिएन।
२०७२ मा भूकम्पपछि बन्द भएको नाका २०७६ मंसिरबाट खुल्यो। तर, पहिले जस्तै पूर्ण रूपमा सञ्चालनमा आउन सेकेन। पहिला १ सयभन्दा बढी कन्टेनर तातोपानीबाट नेपाल भित्रिने गरेकोमा अहिले दैनिक १० कन्टेनर पनि नभित्रिने तोतोपानी भन्सार प्रमुख नारद गौतम बताउँछन्। अहिले दैनिक करिब १ करोड राजस्व उठ्ने गरेको उनले जानकारी दिए।
यता, रसुवागढी नाकामा व्यापार गर्दै आएका धर्म पौडेलले चिनियाँ ३० वटा गाडी लोड भएर बसेको बताए। ‘चिनियाँ गाडीले सामग्री लोड गरेर नेपालतर्फ ल्याउन लागेका थिए। त्यही समयमा तिब्बत क्षेत्रमा कोरोना बढ्यो। कोरोना बढेपछि सवारी साधन सञ्चालन तथा मानिसहरू घरबाहिर निस्कनसमेत रोकियो’, उनले भने।
कोरोना कै कारण नाका बन्द भएकाले कोरोना नियन्त्रणमा नआई नाका खुला हुने सम्भावना नरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए। ‘केही समयअघि चिलोङ काउन्टीका अधिकारीसँग सामाजिक सञ्जाल बिच्याटमा कुराकानी भएको थियो’, प्रजिअ जैशीले भने, ‘त्यतिबेला कोरोना बढेकाले केही समय नाकाबाट सामग्री आयात निर्यात रोकिने बताएका थिए।’ त्यसपछि चिनियाँ अधिकारीसँग कुराकानी नभएको उनले बताए।
रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत राम मैनालीले नाका खुलाउने बारे चिनियाँ पक्षले कुनै पनि जानकारी नदिएको बताए। ‘गत शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ।’
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुन्छ। नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।-Annapurnapost