आज भाद्र शुक्ल चतुर्थी, भगवान् गणेशको जन्मदिन - Epathivara

काठमाडौं : भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पर्व। भगवान् गणेशको जन्मदिनको रूपमा यो दिनको महत्त्व छ।

 

शिव र पार्वतीका पुत्र गणेशलाई विघ्ननाशक देवताका रूपमा पुजिन्छ। सनातन धर्मावलम्बीका सबै मांगलिक कार्यको सुरुआतमा गणेशको पूजा गर्ने परम्परा छ। सबै देवताका प्रिय, भक्तजनको थोरै प्रयासमा खुशी हुने र सिद्धि दिने देवताका रूपमा पनि उनको प्रसिद्धि छ। यस्ता देवताको जन्मदिनमा विधिपूर्वक आराधना गर्दा मनोकांक्षा सिद्ध हुने बताइन्छ।

 

लड्डु र दुवो उनको प्रिय वस्तु भएको बताइन्छ। सिन्दुर, रक्तचन्दन, रातो फूल र रातो वस्त्र आदि चढाएर उनको पूजा आराधना गरिन्छ। गणेश चतुर्थीका अवसरमा काठमाडौं उपत्यकाका चार विनायक सूर्य विनायक, चन्द्र विनायक, मरु विनायक र अशोक विनायकका साथै कमल विनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ।

 

गणेशजीकै श्राप परेको हुँदा यो दिन चन्द्रमाको दर्शन गर्न नहुने पौराणिक मान्यता छ। नेवार समुदायले आज चथा पर्व मनाउँछ। भारतका विभिन्न भागमा यो दिन गणेशको रथयात्रा गर्ने चलन छ, जहाँ हजारौँको संख्यामा श्रद्धालु सहभागी हुन्छन्। केही वर्षयता नेपालका मुख्य शहरमा पनि गणेश रथयात्रा गर्न थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर