तिम्बुङ पोखरी लक्षित दुई सडक निर्माण सुरु - Epathivara

पाँचथर — ताप्लेजुङ र पाँचथरको सीमावर्ती धार्मिक तथा पर्यटकीय स्थल तिम्बुङ पोखरी जोड्न पाँचथरतर्फबाट दुई ठूला सडक निर्माण सुरु गरिएको छ । उक्त पोखरी समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको छ ।

 

सन् २०२० मा सरकारले सय उत्कृष्ट गन्तव्यमा समेटेको यस पोखरी पुग्न प्रदेश र संघीय सरकारले बेग्लाबेग्लै स्थानबाट सडक निर्माण गर्न थालेको हो । प्रदेश सरकारले याङवरक गाउँपालिका–१ टोड्केबाट गोरुजुरे हुँदै डाँडैडाँडा सडक निर्माण गर्ने योजनाअनुसार काम गर्दै छ । संघीय सरकारले याङवरक–२ को सेपीदेखि चिङमा हुँदै आरनेडाँडाबाट बस्ती समेट्दै अर्को सडक निर्माणका लागि सर्वेक्षण गरिसकेको छ ।

 

प्रदेश सरकारले ४५ किमीमध्ये १० किमिको सर्वेक्षण गरेको थियो । यीमध्ये पनि टोड्केदेखि गोरुजुरेसम्मको ५.३६ किलोमिटर सडकको ट्र्याक २०७७ सालमै खोलिएको हो । प्रदेश सरकारबाट क्रमांगत रूपमा बजेट प्राप्त हुने भएकाले सडक निर्माण निरन्तर अगाडि बढ्ने याङवरकका अध्यक्ष भीमबहादुर योङया (सुवास) बताउँछन् । संघीय सरकारले याङवरक–२ को सेपीबाट चिङमा हुँदै १७ किलोटिर सडकको ट्र्याक खोल्नका लागि बोलपत्र आह्वान गरेर एसएएस नामक निर्माण कम्पनीसँग २ करोड १८ लाख रुपैयाँमा सम्झौता गरिएको छ । संघ र प्रदेश सरकारबाट अगाडि बढाइएका यी दुवै सडक निर्माणको दायित्व सडक विभाग वा स्थानीय सरकार कसलाई दिने भन्ने चाहिँ अन्योल रहेको सडक डिभिजन इलामले जनाएको छ ।

 

 

‘दुवै सडक १६९ शीर्षकअन्तर्गतका हुन्, जसलाई स्थानीय सडक भनेर बुझ्नुपर्छ । यी सडकको काममा निरन्तरता दिन सडक डिभिजन वा अन्य कुनै निकायलाई जिम्मा दिने निर्क्योल भने भएको छैन,’ उक्त सडक डिभिजनका इन्जिनियर तथा साइट इन्चार्ज सरोज सुवेदीले भने, ‘यसका लागि सडक नीति नै बन्नु पर्छ, अहिलेलाई संघ सरकारले जसलाई अख्तियारी दिने हो, उसैले काम अगाडि बढाउँछ ।’ संघकै अख्तियारीअनुरूप उक्त डिभिजनले बोलपत्र आह्वान र सम्झौता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर