तेह्रथुम । सामाजिक संस्थामा राजनीतिक दलका नेताको स्वार्थ र दाउपेच घुसेपछि त्यसको नतिजा के हुन्छ ? ज्वलन्त उदाहरण बनेको छ– तेह्रथुम उद्योग बाणिज्य संघ ।
जिल्लाका उद्योगी व्यवसायीको छाता संस्थाकोरुपमा रहेको संघमा आवद्ध व्यवसायी दलगत स्वार्थमा विभाजित हुँदा ६ वर्षदेखि संघ निष्क्रिय छ । गतिविधि शुन्य छन् । उद्योगी व्यवसायीको व्यवसायिक अधिकार र विकासमात्रै रोकिएको छैन, संघमार्फत् हुने जिल्लाको आर्थिक संमृद्धिको पहल ठप्प बनेको छ । यतिसम्म कि संघले आफ्नो विधानबमोजिम गर्नुपर्ने नियमित साधारण सभा र अधिवेशनसमेत गर्न सकेको छैन । ०७० बैशाखमा संघले आफ्नो १० औँ अधिवेशन गरेको थियो । त्यसपछि २५ भदौ, ०७३ मा बोलाइएको अधिवेशनमा व्यवसायी विभाजित भए, दुई वटा अलग–अलग समिति बनेँ । त्यसयता व्यवसायिक सामाजिक संस्थाको नेतृत्वका लागि दलगतरुपमा विभाजित जिल्लाका उद्योगी व्यवसायी नियमितजसो अदालत धाइरहेका छन् ।
अदालतकै आदेशबमोजिम फेरि बोलाइएको अधिवेशनमा समेत व्यवसायीबीच स्वच्छ प्रतिष्पर्धा हुन सकेन, बरू व्यवसायीहरू फेरि बिभाजित भएका छन् । अदालतले दशौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष महेन्द्रप्रसाद काफ्लेलाई अधिवेशन गराउने अधिकार दिएको थियो । काफ्लले शनिबार बोलाएको अधिवेशन सत्ता गठबन्धन दलले बहिष्कार गरेका छन् भने शनिबारै म्याङलुङ्गका फरक–फरक ठाउँमा अधिवेशन गर्दै फरक–फरक समिति गठन गरेका छन् । काफ्लेले बोलाएको अधिवेशनले राजीव ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ भने गठबन्धन दलनिकट व्यवसायीले चन्द्रशेखर सुवेदीको अध्यक्षमा अलग्गै कार्यसमिति गठन गरेका छन् ।
०७३ को अधिवेशनमा पनि ढुंगाना र सुवेदीकै अध्यक्षतामा फरक–फरक समिति गठन भएका थिए । अहिले पनि उनीहरूकै नेतृत्वमा व्यवसायी दुईतिर बिभाजित भएका छन् । ढुंगाना नेकपा एमालेनिकट व्यवसायी हुन् भने सुवेदी नेपाली कांग्रेस निकट व्यवसायी हुन् । ढुंगाना नेतृत्वको समितिमा कांग्रेसनिकट ताराबीर श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बनेका छन् भने कार्यसमितिमा बहुमत सदस्य कांग्रेसनिकट व्यवसायी छन् । उपाध्यक्षहरूमा राजन खत्री र सन्तोष ढुंगाना, महासचिवमा रोशन श्रेष्ठ, सचिवमा धर्मसिंह खड्का र कोषाध्यक्षमा शरदमणि दाहाल चयन भएका छन् ।
सुवेदीको अध्यक्षतामा बनेको समितिमा भने सत्ता गठबन्धन दलनिकट व्यवसायीमात्रै छन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बराल, उपाध्यक्षहरूमा गोपाल खापुङ र होमबहादुर खत्री, महासचिवमा उदयराज लिम्बू, सचिवमा यज्ञबहादुर अधिकारी र कोषाध्यक्षमा अर्जुन गौतम चयन भएका छन् । २५ भदौ ०७३ मा भएको संघको १८ औँ साधारण सभा तथा अधिवेशनमा विवाद भएर व्यापारीहरु नै राजनीतिक रुपमा विभाजित भएपछि नेपाली कांग्रेसनिकट सुवेदी र नेकपा निकट ढुंगानाको नेतृत्वमा छुट्टा(छुट्टै समिति गठन भएका थिए ।
समानान्तर दुई कार्यसमिति बनेपछि जिल्ला प्रशासन कार्यालयले संघका नाममा लेटरप्याड र छाप प्रयोग नगर्न भन्दै बैंक खाता समेत रोकेको थियो । त्यसयता जिल्लामा उद्योग वाणिज्य संघ गतिविधिविहीन छ । स्रोतकाअनुसार संघमा पछिल्लो अधिवेशनका लागि ७८३ सदस्य थिए । सहमतिमै निर्वाचनको बातावरण बनाउन प्रयास भएपनि कांग्रेसनिकट व्यवसायीहरू विभाजित भएपछि लोकतान्त्रिक प्रतिस्पर्धाको सट्टा गठबन्धन दलले समानान्तर समिति बनाएका हुन् ।
अदालतबाट अधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष काफ्लेले भने ढुंगानालाई शनिबार साँझ नै पदभार हस्तान्तरण गरेका छन् । यसअघि गत माघमा पनि अधिवेशन गरेर काफ्लेले ढुंगाना नेतृत्वको समितिलाई पदभार हस्तान्तरण गरेका थिए । तर, व्यवसायी सुवेदी र बरालले उच्च अदालतमा मुद्धा हालेपछि अदालतले सो अधिवेशन खारेजी गरेर पुनः अधिवेशन गराउन आदेश दिएको थियो ।