काठमाण्डौ – काठमाण्डौमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-६ मा गएराति साढे ११ बजे भएको दुर्घटनामा प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दारको ज्यान गएको हो । बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२– ०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरका चालक शङ्खरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षका प्रहरी हवल्दार बालकुमार कट्वालको ज्यान गएको हो । उहाँको अत्तरखेल मेडिकल कलेजमा उपचारमा क्रममा गएराति पौन १२ बजे ज्यान गएको हो ।
यस्तै, दुर्घटनामा स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षका सुरेश राई घाइते हुनुभएको छ । यस्तै, मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रोजित गाइजु घाइते हुनुभएको छ। गाइजुको नर्भिकमा र अरु दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।