ताप्लेजुङ – भारतसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा भएका बहुमूल्य जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइदिन सिदिङ्वा गाउँपालिकाले सरकारसँग माग गरेको छ ।
सीमावर्ती क्षेत्रहरूमा चोरी नियन्त्रणका लागि पालिकाले सुरक्षा व्यवस्थाका लागि स–शस्त्र बेस क्याम्पको माग गरेको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो । तिम्बुङ पोखरी क्षेत्रमा सिक्किमबाट आएर बहुमूल्य जडीबुटी सङ्कलन गरी लाने गरेकाले सुरक्षाको व्यवस्थाका लागि गाउँपालिकाले माग गरेको हो ।
कालीखोलाको हिमाली क्षेत्रमा रहेका कुड्की, विख्मा, विसजरा, केन्जो (पदमचाल), जटामसी, यार्सागुम्बालगायतका जडीबुटीकाे निकासीका साथै कस्तुरी, मृग, रेडपान्डा र हिम चितुवा पनि चोरी सिकार हुने गरेको छ । आउँदो तीन महिनाका लागि हिमाली क्षेत्रमा सुरक्षाका लागि तीन जना स्थानीयवासीलाई पठाउने निर्णय गरिएको उपाध्यक्ष कडरियाले बताउनुभयो ।
चोरी सिकारमा पालिकाको ध्यान गए जडीबुटी संरक्षणमा टेवा पुग्ने चोरी निकासी तथा चोरी सिकार नियन्त्रणको क्षेत्रमा धेरै समय बिताएका किशोरकुमार राईले बताउनुभयो ।