काठमाडौं – पिपुल्स पावर लिमिटेडको आईपीओ आउँदो आइतबार बाँडफाँड हुने भएको छ ।
पिपुल्स पावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो २ गर्ने तयारी भइरहेको क्यापिटलले जनाएको छ । कम्पनीले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन् ।
निष्कासनको अन्तिम दिनसम्म यो कम्पनीको आईपीओमा १६ लाख ६ हजार ११० आवेदकबाट कुल १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । जुन मागभन्दा ७.९४ गुणाले बढी हो । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । यो हिसाबले १३ लाख ७६ हजार बढीको हात खाली हुने देखिन्छ ।