अलैँचीको मूल्य घट्न थालेपछि किसान चिन्तित - Epathivara

इलाम । इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

 

रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रतिमन (४० किलोग्रामं) एक लाखभन्दा माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर, सोही अलैँची हाल करिब ३० हजार प्रतिमन बिक्री हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष भाउ घटेको छ । बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्नित बनेका छन् । पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन् । एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन् । भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर, सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्यूँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ । गएको वर्ष खरिद गरेर राखिएको अलैँची यसवर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन् ।

 

यसवर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए । अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ । वर्षभरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडाएर सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उनीहरुको भनाइ छ । नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ । प्रदेश नं १ को इलामसहित पाँचथर तेह्थुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ । नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर