एजेन्सी, मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफसीका स्ट्राइकरले सियरा लियोनस्थित आफ्नै विवाहमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।
अघिल्लो महिना २६ वर्षका फुटबल खिलाडी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफसीसँग अनुबन्ध भए । यो सम्झौताबारे जुलाई २२ मा घोषणा भएपछि क्लबले उनलाई महत्वपूर्ण खेलको तयारीका लागि यथाशीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो । अफ्रिकाका यी स्ट्राइकरले आफ्नो विवाहको पहिले नै योजना बनाइसकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिनसमेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नकारात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबैतिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उनको सट्टा फुटबल त खेल्न सक्दैनन्, त्यसैले उनले आफ्नो विवाह दुलहा बनिदिन दाइलाई आग्रह गरे । ‘हाम्रो विवाह सियरा लियोनमा जुलाई २१ तारिखमा भयो तर म त्यहाँ थिइनँ किनभने माल्मो क्लबले मलाई छिटोभन्दा छिटो आउन भनेको थियो,’ मोहम्मद बुया तुरेले स्वेडिस न्युजपेपर एफ्टोनब्लेडेटसँग भने । ‘हामीले प्रि वेडिङ फोटोसुट गर्यौँ, त्यसैले म त्यहाँ भएको जस्तो भयो । तर वास्तवमा म आफ्नै विवाहमा थिइनँ मेरा दाइले विवाहमा गर्नुपर्ने मेरो सबै काम कारवाही गरिदिनुभयो ।’
सुन्दा अचम्म लाग्ला, कतिले ‘वाहियात, कस्तो समाचार बनाएको पत्रुकार ?’ पनि भन्नुहोला तर यो साँचो हो । बुया तुरेका दाइ र उनकी श्रीमती सौवाद बेडनलाई विवाहको केक सँगै काटिरहेको देख्न सकिन्छ । त्यतिबेला ती फुटबलरलाई कहिँ कतै देखिँदैन । बुयाले आफ्नो तीनवटा फोटो सोसल मिडियामा सार्वजनिक गरेका छन् तर ती सबै विवाह अघि नै खिचिएको पनि स्पष्टिकरण दिएका छन् । ‘म मेरी श्रीमतीलाई स्विडेन नै ल्याउन चाहन्छु किनभने म उनीसँग निकै नजिक छु,’ अफ्रिकाका फुटबल खेलाडीले पत्रकारलाई भने । ‘उनी मसँग यहाँ नै बस्नेछिन् ।’