काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिना साउनमा नेपाल विद्युत् प्राधिकरणले औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले चालु आवको साउन महिनामा कुल १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरेको हो ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
गत आव २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो ।
योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।