ताप्लेजुङ– परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिबार ताप्लेजुङमा विभिन्न अभिनयका साथ मनाइयो । पूर्वी पहाडको मौलिक पर्वको रुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ ।
रोपाई गितको साथमा अघिअघि गोरुहली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सय भन्दा धेरै बालबालिका र युवायुवती जात्रामा सहभागी भएकोे नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए ।
राणा शासनकाल देखि नै नेवार जातीले सुरु गरेको यो जात्रा अहिले आएर सम्पूर्ण ताप्लेजुङको पर्वको रुपमा विकास हुँदै गएको छ । सुरुवातमा नेवार समुदायमा मात्र मनाउने यो पर्व समयक्रम सँगै सवै जातजातिले आ आफ्नो भेषभुषा र गरगहनामा सजिएर पर्व मनाउन थालेका छन् ।
धार्मिक साहिष्णुताको झल्को दिनेगरि कलाकारहरु झ्याम्टा र ढोल तथा धिमे बाजाको तालमा गीत गाउँदै धान रोपे झै गरि नाच्दै बजार परक्रमा गरे । मुकुन्डो लगाएको लाखे सँगसगै नाच्ने भएकाले वृद्धवृद्धादेखि बालबालिकासम्म लाखे जात्रा पर्व अवलोकनका लागि सदरमुकाम आएकाले भिडभाड बढेको छ । फोटो: बसन्त लिम्बू