काठमाडौँ — नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंसिरमा हुने आमनिर्वाचन तालमेलको विषयमा छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार अपराह्न चुनावी तालमेलको विषयमा एक घण्टा छलफल भएको छ । दुवै नेताहरुबीच सत्तारुढ गठबन्धन निर्माण भइसकेको अवस्थामा एमाले र राप्रपाबीच ‘देशभक्त’ र ‘राष्ट्रवादी’ शक्ति एक भएर जाने विषयमा छलफल भएको हो ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले राप्रपासहित विभिन्न पक्षसँग छलफल भइरहेको बताए । ‘राप्रपासहित विभिन्न समूहसँग छलफल भइरहेको छ,’ कान्तिपुरलाई संक्षिप्त प्रतिक्रिया नेम्वाङले भने, ‘कुनै पक्षसँग सहमति भइसकेको छैन । ‘ यसअघि राप्रपा अध्यक्ष लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग तालमेलको विषयमा कम्तीमा २ पटक छलफल गरेका थिए ।
ओली र लिङ्देनबीच शुक्रबार एक घण्टा छलफल भएको थियो । आगामी चुनावको योजना निर्माण गर्नेसहित विषयमा निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारबाट सुरु हुँदैछ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग संभावित राष्ट्रवादी देशभक्त गठबन्धन निर्माण गर्न विषयमा छलफल भएको बताए ।
‘सत्तारुढ गठबन्धन बनिसकेको अवस्थामा प्रतिपक्षी दलहरुको बीचमा सहकार्य संभावनाको खोजीका लागि छलफल भएको हो,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘राष्ट्रवादी तथा देशभक्त शक्तिहरुको बीचमा चुनावसम्म मात्रै नभएर चुनाव पछिसम्म गठबन्धन गरेर जाने विषयमा छलफल भएको छ । दुवै अध्यक्षको छलफल सकारात्मक छ ।’
राप्रपाको समग्र चुनावको बारेमा निर्णय गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राप्रपाले बैठकअघि नै एमालेसँग चुनावी तालमेल र आगामी दिनको सहकार्यको संभावित विषयमा धारणा बुझ्न चाहेको छ । बुधबारमात्रै राप्रपाकी महामन्त्री कुन्ती शाही, केन्द्रीय सदस्य रेखा थापा सहितको महिला नेताहरुको टोलीले एमाले अध्यक्ष ओलीसँग बालकोटमै भेट गरेको थियो । अनौपचारिक छलफलमा चुनावी सहकार्यको विषयमा कुराकानी भएको थियो ।
२०७४ सालको आमचुनावमा राप्रपाले कांग्रेससँग गठबन्धन गरे पनि झापामा भने एमाले र माओवादी केन्द्र तथा राप्रपाबीच गठबन्धन भएको थियो । झापाका ओली र लिङ्देनले चुनावी गठबन्धन गरेर एकले अर्कोलाई सघाएका थिए । राप्रपाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व लिङ्देन एकमात्रै सांसद हुन् । अध्यक्ष ओलीले पनि झापा ५ बाट ठूलो मतान्तरले पराजित गरेका थिए ।
झापामै दुवै अध्यक्षलाई सहज जितका लागि एकलाई अर्कोको सहयोग चाहिने अवस्थामा रहेको छ । राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि ओली र लिङ्देनबीचको सम्बन्ध केही टाढिएको थियो । कांग्रेसको महाधिवेशनमा लिङ्देनले ‘अहिले नेताहरु बदनाम भएको र गाउँघरमा नेताहरुलाई जनताले चोर भन्ने गरेको’ बताएका थिए । सोही मञ्चबाट लिङ्देनको भनाइप्रति असन्तुष्टि जनाए पनि राप्रपाका अन्य नेताहरुसँग छलफलमा अध्यक्ष ओलीले लिङ्देनले चोर भनेको भन्दै गुनासो गर्ने गरेका थिए ।
त्यसैगरी गत माघमा भएको राष्ट्रिय सभा चुनावमा एमालेले प्रदेश १ को निर्वाचनमा राप्रपाबाट निसर्त समर्थन खोजेका थिए । सत्तारुढ गठबन्धनसँग तीव्र प्रतिस्पर्धामा एमालेले राप्रपाको साथ खोजेको थियो । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा एमालेले भारतपुर महानगरपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको थियो । त्यसैगरी ओलीको गृहनगर दमक नगरपालिकमामा सत्तारुढ गठबन्धन र राप्रपाबीच चुनावी तालमेल भएको थियो । सो नगरपालिकामा राप्रपाका राम थापा मेयरमा निर्वाचन भएको थिए ।
गत स्थानीय तह चुनावमा वडाध्यक्षहरुले प्राप्त गरेको मतको विश्लेषण गर्दा एमाले र राप्रपाबीच देशभर गठबन्धन हुँदा सो गठबन्धनलाई ८ स्थानमा फाइदा हुने देखिन्छ । स्थानीय चुनावमा मतको आधारम सत्तारुढ गठबन्धनसँग एमाले एक्लै लड्न प्रत्यक्षतर्फ ९ स्थानमा मात्रै बढ्ता देखिन्छ ।
वामपन्थी मत ध्रुवीकरण गर्ने घोषणा गरेर चुनावमा जाने बताउँदै आएको एमालेले सत्तारुढ गठबन्धन राप्रपा तालमेल गर्न लागेको हो । राप्रपा २०६२-०६३ को राजनीतिक परिवर्तन संघीयता, धर्मनिपेक्षा र गणतन्त्रको विपक्षमा रहेको छ ।