ताप्लेजुङका यी व्यक्ति जसले मृत्युअघि आफ्नै चिहान बनाए - Epathivara

ताप्लेजुङ — बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल गएका फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका सुकराज सामेखाम लिम्बूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान डाक्टरले सल्लाह दिए ।

 

त्यही सल्लाह अनुसार उनले झापाको बिर्तामोडका अस्पतालमा देखाए । झापाका अस्पतालले भरतपुरको क्यान्सर अस्पताल रेफर गरे । त्यहाँ पुगेपछि थाहा पाए कलेजोमा क्यान्सर भएको छ र उपचार सम्भव छैन ! डाक्टरले समयावधिसमेत तोकिदिएपछि घर फर्किए र कपुरखान (चिहान) बनाउन थाले । दुई श्रीमतीका पति उनले आफ्ना लागि मात्रै नभएर दुवै श्रीमतीका लागि चिहान बनाए । सुकराजका जेठा छोरा भीमकुमारका अनुसार कपुरखान बनाइसकेको झण्डै तीन सातापछि सोमबार बेलुका उनको मृत्यु भयो । ‘डाक्टरले चारदेखि पाँच महिना भन्नुभएको थियो,’ भीमले भने, ‘पाँच महिना लाग्दै बित्नुभयो ।’

 

लिम्बू समुदायमा मत्युपछि शवलाई खाडल खनेर राख्ने र त्यसको वरिपरि सिमेन्ट लगाएर घरजस्तै बनाउने प्रचलन छ । जसलाई कपुरखान भनिन्छ । सुकराजले जेठी श्रीमती भगीमाया, कान्छी कीर्तिमाया र आफ्ना लागि समेत गरी लहरै तीनवटा चिहान बनाए । बीचमा आफ्नो शव राखिदिन छोरालाई प्रस्ताव गरे । त्यसलाई जस्तापाता लगाएर माथिबाट छानो हाले । ‘बुबाले आफ्नो चिता आफैं बनाउँछु भनेपछि हामीले पनि खाल्टो खन्न, बनाउन सहयोग गर्यौं,’ भीमकुमारले भने, ‘सिमेन्ट, रड र बालुवा किन्दा ३५ देखि ४० हजार खर्च भयो होला अरु त आफैंले श्रम लगाएर काम गर्यौं ।’ आफ्नो चिता बनाउन अरुले दुख नपाउन भनेर बुबाले आफैं प्रयत्न गरेको र त्यसलाई परिवारले साथ दिएको उनले बताए ।

 

२०१८ साल पुस २१ गते जन्मिएका सुकराजका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए । जेठी श्रीमती, छोरा र उनी बस्ने घर सँगै रहेको छिमेकी जगन पौडेल बताउँछन् । अमलुजङस्थित आफ्नै जमिनमा बस्ने भन्दै उनले बारीमा चिता बनाएका हुन् । तीनै जनाको शरीरलाई ठीक हुनेगरी चिहान बनाएको र मृत्यु हुँदा आवश्यक पर्ने कात्रोको व्यवस्था पनि उनी आफैंले मिलाएका थिए । एक वर्षदेखि उच्च रक्तचाप, सुगर, ग्याष्टिक जस्ता समस्या देखिएका उनी मृत्यु हुने दिनसम्म पनि हिँडडुल गरेको परिवारका सदस्यहरू बताउँछन् । पछिल्लो केही वर्षयता लिम्बू समुदायमा आफ्नो मृत्युपछि आफूलाई राख्ने कपुरखान आफैं बनाउने संस्कार बढ्दो क्रममा छ । हरेक मानिसको मृत्यु अनिवार्य भएकाले परिवारसँगको सल्लाहमा नै यस्ता चिहान बनाउने क्रम बढेको हो । अन्यथा मृत्युपछि परिवारका सदस्यले यस्तो चिहान बनाउने गरेका हुन्छन् । पाँचथरको फालेलुङ गाउँपालिका ८ याङनामका मनप्रसाद कुरुम्वाङ र उनकी श्रीमती बुधरानीले पनि १ लाख १२ हजार रुपैयाँ खर्चिएर कपुरखान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर