तेह्रथुमका २३ विद्यालय बन्द - Epathivara

तेह्रथुम — विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमै कोरोना फैलिएपछि दुई निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए ।

अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टिपछि शिक्षा शाखाको सिफारिसमा विद्यालय बन्द गराएको गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले बताए । तेह्रथुमका ती २३ विद्यालयमा करिब २ हजार विद्यार्थी पढ्छन् । पालिका अध्यक्ष खापुङ स्वयं संक्रमित भएर उपचार गराउँदै छन् । पालिका–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले भने, ‘सातापछिको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने वा बन्द लम्ब्याउने भन्नेबारे टुंगोमा पुग्छौं ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षणका लागि आएका ४० जनामा एन्टिजेन परीक्षण गर्दा २६ मा संक्रमण पुष्टि भएको मेन्छ्यायेम अस्पतालकी डा. प्रशंसा न्यौपानेले बताइन् । उपचारका लागि आएकामा सुक्खा खोकी र ज्वरोको लक्षण देखिएको उनले जनाइन् । ‘अधिकांश यस्ता बिरामीमा कोरोना देखिने गर्छ,’ डा.न्यौपानेले भनिन् ।

संक्रमितको संख्या बढी रहँदा पनि लक्षण देखिएकाहरू उपचारका लागि स्वास्थ्यकर्मीको पहुँचसम्म आउन नमानेको अध्यक्ष खापुङले बताए । संक्रमित गाउँघरमै बस्ने, हिँडडुल गर्ने र वारिपारिका बजारसम्म नै आइजाइ गरिरहेकाले अन्य क्षेत्रमा समेत फैलिने त्रास बढेको उनले बताए । डा.न्यौपानेका अनुसार पूर्ण खोप लगाएका र नलगाएका दुवै थरीकामा संक्रमण देखिएको छ । साता यता दिनहुँ संक्रमित बढिरहेको उनले जानकारी दिइन् ।-ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर