ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ याङ्मावासी आर्थिक सङ्कटमा परेका छन् । पुरानो तथा ऐतिहासिक पर्यटकीय गाउँ चीनको सीमावर्ती क्षेत्र याङ्माका बासिन्दा अहिले चरम आर्थिक अभावमा छन् ।
आफूले पालेका चौरीबाट उत्पादित पदार्थहरू बिक्री हुन नसक्ता उनीहरूले आर्थिक समस्या भोगिरहेका छन् । कोभिड–१९ सङ्क्रमणका कारण तीन वर्षयता चीनसँगको घरिल्ला नाका बन्द भएसँगै याङ्मावासी समस्या परेका हुन् । याङ्माका कान्देग्याबु शेर्पा परिवारको दिनचर्या चौरी गोठमा बित्छ । चौरी पालनबाट नै जीवन निर्वाह गरी रहे पनि अहिले चौरी र चौरीबाट उत्पादन हुने पदार्थ चीनमा निर्यात गर्न उहाँ समस्यामा हुनुहुन्छ । याङ्मा गाउँमा १० परिवारको बसोबास छ । सबैको पुख्र्याैलीदेखिको पेसा चौरी पालन हो । याङ्माका लोप्साङ शेर्पाले पनि अहिले चौरी पालनबाट आम्दानी लिन सक्नुभएको छैन । तीन वर्ष अगाडिसम्म बर्सेनि १२ देखि १५ वटासम्म चौरीका बाछादेखि वयस्क चौरी चीनमा बिक्री गर्दै आएको उहाँको भनाइ छ । शेर्पाका अनुसार एउटा चौरी एक लाख ५० हजार रुपैयाँसम्ममा चीन निर्यात हुने गरेको थियो ।
चीनका नागरिकले चौरीको बाछो पाल्नका लागि र वयस्क चौरी मासुका लागि लैजाने गरेका याङ्मावासी बताउँछन् । समुद्र सतहदेखि चार हजार दुई मिटर उचाइमा पर्ने हिमाली बस्ती याङ्मामा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र चौरी पालनका लागि अनुकूल रहेको फक्ताङलुङ ७ का अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।
यहाँका बासिन्दाले चौरीको बाछो, वयस्क चौरीका साथै चौरीको घिउ, छुर्पी, चमरलगायत चीनमा राम्रो मूल्यमा निर्यात गर्दै आएका थिए । अहिले नाका बन्द हुँदा यो आम्दानी गुमेको छ । याङ्मावासीले चौरी बिक्री गरेर वर्षभरि पुग्ने खाद्यान्न चीनबाट आयात गर्दै आएको थिए । तीन वर्षयता भने सदरमुकाम फुङिलङ बजारदेखि खरिद मूल्यभन्दा चार गुणा बढीमा ढुवानी गर्नुपरेको उनीहरूको गुनासो छ । Ujyaaloonline