प्रदेश १ : एकातिर पहिचानवादी नामको माग, अर्कोतर्फ प्रदेश नै खारेजीको माग - Epathivara

विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।

 

यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्। ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ ले भने अझै नाम के पाउने भन्ने टुंगोमा पुग्न सकेको छैन। पहिचानका आधारमा नाम राख्नुपर्ने माग भइरहँदा अनावश्यक खर्च मात्र बढाएकाले प्रदेश खारेज गर्नुपर्ने र संघ तथा स्थानीय तहमात्र राख्नुपर्ने मागसहित केही राजनीतिक दलले नै प्रदर्शन गरिरहेका पनि छन्।

 

प्रदेशसभाको कार्यकाल सकिनै लाग्दा प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई नाम राख्न चटारो परेको छ। तर नाम यही राख्ने भन्ने टुंगोमा पुग्न नसकिरहेको वेला सडक आन्दोलनले विराटनगरको माहोल तातिरहँदा यहाँ संघीय लिम्बूवान पार्टी नेपालले भने चारबुँदे मागसहित प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले प्रदेश १ खारेज गर्नुपर्ने, अरुण—संखुवाखोला पूर्वका जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको लिम्बूवान स्वायत्त राज्य स्थापना गर्नुपर्ने, वि.सं १८३१ को तत्कालीन गोर्खा र लिम्बूवान, २०६४ चैत ६ गते सरकार र लिम्बूवान बिच भएको ५ बुँदेलगायतका सन्धि—सम्झौता लागू गर्नुपर्ने र नेपालको संविधान २०७२ संशोधन तथा पुर्नलेखन गर्नुपर्ने माग राख्दै आज (मंगलबार) उनीहरुले प्रदेश प्रमुख खापुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

प्रदेश १ को नामकरणको विषयमा छलफल चलिरहँदा आफूहरूको पार्टीको स्पष्ट धारणा बताउँदै संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष संजुहाङ पालुङवाले लिम्बूवान आन्दोलन जातीयताको आन्दोलन नभई पहिचान, अधिकार, भूमिमुक्ति र ऐतिहासिक सन्धी—सम्झौताहरूको पृष्ठभूमिमा उठेको न्याय र समानताको साझा राजनीतिक लडाइ रहेको बताए। ‘हजारौँ लिम्बूवानवासी युवाको रगत र पसिना, जेल—नेल, अंगभंग र शहीदहरूको बलिदानबाट आन्दोलन सच्चिएको छ। लाखौँ लिम्बूवानवासी जनताको अगाध प्रेम, आस्था, समर्पण, सद्भाव एवं एकबद्धता, राजनीतिक अस्थिरता र भविष्यमा महँगो मूल्य चुकाउनपर्ने भएकोले सम्बन्धित प्रदेशका सबै राजनीतिक दल, नेता तथा सांसदलाई लिम्बुवान आन्दोलनको संवदनशीलतालाई नजरअन्दाज नगर्न आग्रहका साथ यसै ज्ञापनपत्रमार्फत हाम्रा मागहरू राख्न चाहन्छौं‚’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर