नेपाल बराबरीमा रोकियो, बंगलादेश फाइनलमा - Epathivara

भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले सिधै रातो कार्ड पाएका छन् ।

नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत सिधै रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।

बंगलादेशका कप्तान तनवीरले नेपालका कृतिस रन्त छुन्जुलाई फउल गरेका थिए । त्यसपछि तनवीर सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत हुँदा नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए । त्यसपछि दुबै टोलीका खेलाडी झगडामा उत्रिएका थिए । दुबै टोलीका बेन्चका खेलाडी समेत मैदान प्रवेश गरेर झगडा गरेका थिए ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

नेपालले ४ खेलमा ७ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।

बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोडेको छ ।

बंगलादेश शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।

यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।

भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ ।

भारत र माल्दिभ्सबीचको खेल आज बेलुका ७:१५ बजे सुरु हुनेछ ।

भारत ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

माल्दिभ्स १ अंक जोडेर बाहिरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर