चिनियाँको कल सेन्टर धन्दा:नेपालमा सेल्टर, भारतमा कारोबार - Epathivara

काठमाडौं । गत आइतबार र सोमबार क्रमशः काठमाडौं र रूपन्देहीमा रहेका दुईवटा अवैध कल सेन्टरमा प्रहरीले छापा मार्‍यो। आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा रहेको ब्लु स्काई बिजनेस सोल्युसन प्रालि (कल सेन्टर)मा प्रहरीले छापा मारेर २ सय ५८ जना पक्राउ गरेको थियो भने सोमबार काठमाडौं तिनकुनेको गैरीगाउँमा रहेको स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारेर ३६ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले छापा मारेका यी दुवै कल सेन्टरका धेरै समानता छन्। दुवै कल सेन्टर चिनियाँ लगानीमा सञ्चालित हुन्। जसमा भारतीय नागरिकको पनि संलग्नता छ। दुवै कम्पनीले विभिन्न चिनियाँ एप प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ। यसबाहेक अश्लीलता प्रयोग गरेर ब्ल्याकमेल गर्ने धम्क्याउने र असुली गर्ने विधि पनि प्रयोग गरिएको छ।

यही प्रकृतिका घटना यी मात्रै पहिलो भने होइनन्। नेपाल प्रहरीले बेलाबेलामा यस्तै प्रकारका कल सेन्टरहरूमा छापा हान्दै आएको छ। जसको ‘जरो’ खोज्दै जाँदा चिनियाँ नागरिकसम्म पुग्छ। पहिलो पटक २०७६ साल पुस ७ गते काठमाडौंका विभिन्न ठाउँबाट १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्वमा सञ्चालित अपरेसनले मनमैंजु, बूढानीलकण्ठ र बाँसबारीका नौवटा घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो।

उनीहरूका साथबाट प्रहरीले ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो। उनीहरूको धन्दा पनि कल सेन्टरकै जस्तो थियो। यस्तै २०७८ फागुन १० गते भक्तपुरको सानोठिमीमा रहेको एक घर भाडामा लिएर चलाइएको कल सेन्टरमा प्रहरीले छापा हानेर ८१ जना पक्राउ गरेको थियो भने त्यसैदिन काठमाडौंको बानेश्वरबाट १३ नेपाली युवती र एक चिनियाँसहित ३७ जना पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय