ताप्लेजुङमा रेडपान्डा पाइने जंगलमा प्रवेशमा रोक - Epathivara

ताप्लेजुङ, साउन ११ गते । सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै दुर्लभ मानिने रेडपान्डा (हाब्रे) पाइने क्षेत्रका जंगलमा प्रवेशमा रोक लगाएका छन् । साउनदेखि असोजसम्म जंगलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने सूचनामा उल्लेख छ ।

 

रेडपान्डाले बच्चा हुर्काउने समय भएकोले जंगलमा होहल्ला भएमा माउले बच्चा छोडेर हिँड्ने खतरा हुने भएकाले यस्तो सूचना जारी गरिएको पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनका अध्यक्ष क्रिक्या शेर्पाले बताए । ‘रेडपान्डाले अशान्त माहोलबाट बच्चा जोगाउन अन्यत्रै लिएर हिँड्न खोज्ने, ठाउँ सार्न खोज्ने गर्छ,’ उनले भने, ‘सम्हाल्न नसके छोडेर अन्यत्रै जान्छ । यसबाट स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ ।’ जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका २ महिना नियमित हेरचाह गरेर हुर्काउँछ । यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन् । त्यसैले यो अवधिलाई विशेष महत्त्वका साथ हेरिने रेडपान्डासम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउँछन् ।

 

उनका अनुसार सामान्यतया १ सय ३५ दिनको गर्भधारणपछि बच्चा जन्माउने रेडपान्डाले पुसदेखि फागुनसम्म गर्भाधारण गर्छ । गर्भवती भएको अवस्थामा ठूलो रुखको प्वाल खोजेर जन्माउने र हुर्काउने ठाउँ बनाउँछ । मेहनत गरेर बनाउने भएकाले बिनाअवरोध त्यहीं हुर्काउन पाए बच्चा नमर्ने रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक वाङचु भोटियाले बताए । ‘दूध चुसाएरै हुर्काउने भएकाले तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कन्छ,’ उनले भने । लजालु स्वभावको रेडपान्डा यो अवधिमा चलायमान हुन्छ । खानेकुरा खोज्न गुँडबाहिर निस्कन्छ । आफूलाई असुविधा महसुस भए ठाउँ सारी गर्छ । संरक्षणविद् प्रल्हाद योञ्जनले सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपान्डाको बच्चा अवस्थामै मृत्यु हुने गरेको छ । यो रेडपान्डाको संख्या विस्तारमा गम्भीर चुनौती रहेको संरक्षणविद्हरू बताउँछन् ।

 

भोटियाका अनुसार गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा रेडपान्डा त्रसित हुने गर्छ । त्यस्तो अवस्था आए बच्चा सार्नतिर लाग्छ । सार्न थालेपछि बच्चाका लागि उपयुक्त वातावरण दिन नसक्ने भएकाले मृत्यु पनि हुन सक्छ । यिनीहरूलाई कुकुरबाट पनि जोखिम हुन्छ । कुकुर नियन्त्रणका लागि बर्सेनि बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताए । मालीङ्गाको टुसा, टेङ्गाको दाना, भालुचिण्डेजस्ता बस्तु खाएर बाँच्ने यसले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिएको हुन्छ । यो बेला प्राकृतिक रूपले सबै आहारा पाउने समय भएकाले बाँच्नै समस्या भने हुँदैन । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार यहाँका १४ सामुदायिक वनमा रेडपान्डा पाइने सर्भेक्षणले देखाएको छ । ताप्लेजुङमा १ सयभन्दा बढी संख्यामा रेडपान्डा रहेको अनुमान गरिएको मञ्चको तथ्यांक छ । रेडपान्डा मुलुकका ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ । विभिन्न समयमा गरिएको सर्वेक्षणअनुसार मुलुकभर यसको संख्या ३ सयको हाराहारीमा रहेको अनुमान छ । ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय