ताप्लेजुङ- ताप्लेजुङमा आर्थिक बर्ष २०७८/०७९ मा भवितव्य,सवारी ज्यान,सवारी भवितब्य, कर्तव्य ज्यान, फुटकर ज्यान र आत्महत्यासहित गरेर १ सय ४ जनाले ज्यान गुमाएका छन् ।
भवितव्यका घटनामा मात्रै ४४ जनाले ज्यान गुमाएका छन् भने आत्महत्या गर्नेको संख्या ३५ रहेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार आव २०७८/०७९ मा जम्मा १ सय ६६ वटा घटना भएकोमा सबैभन्दा बढी भवितव्यका रहेका छन्। त्यसपछि झुण्डी आत्महत्या गर्ने ३३ र बिष खाइ आत्महत्या गर्ने २ सहित आत्महत्याका कारण ३५ जनाको मृत्यु भएको छ। कर्तव्य(हत्या)मा परी ८ जनाले ज्यान गुमाएका छन्। प्रहरी निरीक्षक कार्कीका अनुसार सवारी दुर्घटनामा ५ जनाको मत्यु भएको छ। फुटकर ज्यान भनेर चिनिने मृत्युको कारण नखुलेको घटनामा परी ४ तथा चट्याङ लागेर/लडेर/करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ। सवारी भवितव्यमा परी २ जनाले ज्यान गुमाएका छन् भने शरिरमा आगो लागि १ जनाको मृत्यु भएको छ। १ जनाको बेबारिसे ज्यान फेला परेको प्रहरीले जनाएको छ।
भवितव्य र आत्महत्याका घटना पछि बर्षभरीमा सबैभन्दा बढी घटना जबरजस्ती करणीका रहेका छन्। यो शीर्षकका २० वटा घटना प्रहरीकोमा दर्ता हुन आएको। प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। उनका अनुसार अभद्र व्यवहारका १५,ज्यान मार्ने उद्योग र कुटपिट तथा अंगभंगका ५–५,चोरी र लागु औषधका ४–४ वटा घटना भएका छन्। यस्तै गर्भपतन अर्थात् गर्भ संरक्षण बिरुद्धको कसुर, जबरजस्ती करणी उद्योग, वाल यौन दुरुपयोगका अपराधिक उपद्याँई,बिष्फोटन(बिष्फोटक पदार्थ),सवारी अंगभंग,गौवध,जबरजस्ती करणी उद्योग र ठगीका १–१ वटा घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी ७७ प्रतिशत दोषी पक्राउ गर्न सफल
वर्षभरी भएका कूल १ सय ६६ वटा घटनामा १ सय ५६ जना संदिग्ध दोषीमध्ये ताप्लेजुङ प्रहरीले १ सय २० जनालाइ पक्राउ गर्न सकेको छ। संदिग्ध दोषी पक्राउ प्रतिशत करिव ७७ प्रतिशत हुन आउँछ। जिल्ला प्रहरी कार्यालयका अनुसार १ सय ५६ जना संदिग्ध दोषीमध्ये १ सय २० जनालाइ पक्राउ गरिएको छ। घटनाका संदिग्ध ३६ जना दोषी भने फरार रहेका छन्। Nagariknews