प्रदेश १ मा ७५ वर्षपछि विद्युत् उत्पादनमा फड्को - Epathivara

विराटनगर- प्रदेश १ मा ७९ वर्षको अवधिमा विद्युत् उत्पादन ३ सय २७ मेगावाट पुगेको छ । सुस्त गतिमा भइरहेको विद्युत् उत्पादन ४ वर्षयता भने तीब्र गतिमा भएको तथ्यांक छ । विद्युत् उत्पादनको इतिहासमा फर्पिङ जलविद्युत् आयोजना नेपालको पहिलो आयोजना हो । त्यसपछि सुन्दरीजल र तेस्रो स्थानमा रहेको प्रदेश १ कै पहिलो विद्युत् आयोजना मोरङ लेटाङको १८ सय किलोवाटको मोरङ हाइड्रो (हाल उक्त आयोजनाको केही निशाना मात्रै छ) हो । उक्त आयोजना सन् १९४३ अर्थात् वि.सं. २००० मा स्थापना भएको इतिहास छ । त्यसयता विद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् ।

 

प्रदेश १ मा आर्थिक वर्ष २०७५/०७६ सम्ममा विद्युत् आयोजनाको उत्पादन क्षमता १३६.२ मेगावाट थियो । तर, ४ वर्षको अन्तरालमा हालसम्ममा उक्त क्षमतामा १९०.८ मेगावाट थप हुँदै बढेर ३२७ मेगावाट पुगेको हो । आउँदो १ वर्षमा झण्डै १ सय मेगावाट विद्युत् थप हुने विद्युत् प्राधिकरण बताउँछ । प्रदेश १ मा ३४ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको बताइन्छ । हाल करिब ११२० मेगावाट क्षमताका ४० वटा आयोजना उत्पादनको अनुमति लिई निर्माणको चरणमा छन् भने ४०६७ मेगावाट क्षमताका ८६ वटा आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । विद्युत् उत्पादन बढेसँगै प्रदेश १ मा ९६.९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । २०७५/०७६ मा विद्युत्को पहुँच ७५.९ प्रतिशत थियो ।

प्रदेश १ को चार जिल्लाहरु झापा, मोरङ, सुनसरी र धनकुटामा पूर्ण विद्युतीकरण भइसकेको प्रदेश १ को आर्थिक सर्वेक्षण रिपोर्टमा उल्लेख छ । आर्थिक वर्ष २०७९/०८० मा ९ जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना रहेको छ ।

 

अझै दाउरामै निर्भर
प्रदेश १ अन्तर्गत उर्जाका वैकल्पिक स्रोतहरु गोबर ग्यास, सौर्य उर्जा, माइक्रो हाइड्रो, मट्टितेल, दाउरा आदि हुन् । खाना पकाउन सबैभन्दा बढी ६७.०५ प्रतिशत काठ/दाउराको प्रयोग हुने गरेको छ । यस्तै एलपी ग्यासको १५.९२, गुइँठाको प्रयोग ११.८१, गोबर ग्याँसको प्रयोग ३.१, बिजुलीको प्रयोग ०.१५ र अन्य ०.४२ प्रतिशत प्रयोग हुने गरेको छ । यसैगरी उज्यालोको लागि ६५.८२ प्रतिशत विजुलीको प्रयोग हुन्छ भने ८.७५ प्रतिशत सौर्य उर्जाको प्रयोग भएको पाइएको छ । अझै पनि मट्टितेल बालेर उज्यालो बनाउने मानिसको संख्या २१.७ प्रतिशत रहेको छ ।

 

प्रदेश १ मा पिक डिमान्ड २५० मेगावाट
प्रदेश १ मा हाल असार साउनमा धेरै डिमाण्ड हुने गरेको छ । यस्तो डिमान्ड भने २५० मेगावाट रहेको नेपाल विद्युत् प्राधिकरण प्रदेश १ विराटनगरका निर्देशक राजन ढकालले जानकारी दिए । लोडसेडिङ अन्त्यपछि विद्युत् खपत पनि निरन्तर बढिरहेको छ । तथ्यांक अनुसार वार्षिक १५ प्रतिशत खपत बढेको छ । औद्योगिक डिमान्ड पनि सोही अनुपातमा रहेको ढकालले बताए । ‘लाइनमा सुधार गर्न पाए विद्युत् खपत अझै बढ्थ्यो होला, तर, मान्छेलाई बिजुली चाहियो भन्छन् तर, घर अगाडि ट्रान्सफर्मर राख्न भने दिँदैनन्, तार टाँग्न दिँदैनन्, यो ठूलो समस्याको रुपमा आएको छ,’ ढकालले भने ।

अहिलेसम्म प्रदेशको उत्पादनले नै धान्ने अवस्था देखिन्छ । तर, हिउँदको समयमा भने अहिलेको उत्पादन झण्डै ८० प्रतिशत कमी आउने उनले जानकारी दिए । त्यस्तो अवस्थामा भारतको कटैयाबाट वा राष्ट्रिय प्रसारण लाइन ढल्केबरबाट विद्युत् प्रदेश १ का लागि ल्याउनु पर्ने उनको भनाइ छ ।

 

ट्रिपिङको समस्या किन ?
अहिलेको ट्रिपिङको ६० प्रतिशत समस्या भनेको रुख, पातको कारण पनि हो । सिंचाईको कारण पनि छ । अहिले वर्षा नहुँदा एकै पटक सिँचाईका लागि बोरिङहरु चलाउने गरिएको छ । जसको कारण पनि ट्रिपिङ बढेको छ । ‘पानी पर्दा, हावा हुरी आउँदा पनि ट्रिपिङ हुन्छ,’ ढकालले भने । सिँचाईको लागि मात्रै प्रदेश १ मा ७० हजार भन्दा बढी ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

 

गुणस्तर सुधारमा समस्या ?
सरकारले विद्युत् खपतलाई बढावा दिनुपर्ने बताइरहेको छ । तर, विद्युत् खपत बढाउने कुरा गरिरहेको अवस्थामा ३३ केभी प्रसारणलाइन नै विस्तार गर्न स्थानीयबाट अवरोध हुने गरेको कारण समस्या सिर्जना भइरहेको ढकाल बताउँछन् ।

‘अहिले उद्योगीले १५ मेगावाट विद्युत् चाहियो भनेर भन्यो भने त्यहाँसम्म लान सक्ने अवस्था नै छैन, अवरोध भइहाल्छ,’ उनी भन्छन् । मानिसको जग्गाबाट मात्रै होइन सरकारी बाटोबाटै पनि विजुली लान नदिने गरेको उनको भनाइ छ । ‘अर्को वर्ष प्रदेश १ मै १ सय मेगावाट थपिन सक्छ, त्यस्तो बेलामा ल्याउन लाइन त बनाउनु पर्यो, नत्र त्यो विद्युत् कहाँ खपत गर्ने ?, यो गम्भीर च्यालेन्ज देख्छु,’ ढकालले भने, ‘लाइनको गुणस्तर वृद्धि गर्नुपर्ने अति आवश्यक छ ।’
विद्युतीय चुल्हो प्रयोग धेरैले गर्ने अवस्था आयो भनेपनि सिस्टम क्रयास हुनसक्ने ढकालले बताए । ‘सबैले एकैचोटी खाना पकाउँदा विद्युत्को डिमान्ड बढ्छ, त्यसो हुँदा ट्रान्सफर्मर पड्किने समस्या बढ्न सक्छ,’ ढकालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर