देवराज गुरुङ। ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै संस्था हिमाली संरक्षण मंञ्चले २ करोड २ लाख रुपैयाँको कार्यक्रम संञ्चालन गरेको जनाएको छ । जिल्ला परियोजना सल्लाहकार समितिको आइतबार आयोजित कार्यक्रममा बजेट र कार्यक्रमबारे जानकारी दिएको हो । रेड पान्डा नेटवर्कको सहयोगमा मंञ्चले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चार वटा शिर्षकमा खर्च गरिने जनाएको छ । अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जिवीकोपार्जन र पर्यापर्यटन प्रवद्र्धन शिर्षकमा कार्यक्रम संञ्चालन भएको कार्यक्रम निर्देशक रमेश राईले जानकारी दिए । आठराई त्रिवेणी गाउँपालिका बाहेक सवै पालिकाको वडामा कार्यक्रम लागू गरेको छ ।
कार्यक्रम निर्देशक राईले भने,‘रेडपान्डाको बासस्थान भएको वडामा कार्यक्रम लागू गरेका हौ । ताप्लेजुङसहित तेह्रथुम र संखुवासभामा पनि कार्यक्रम संञ्चालनमा छ ।’ संस्थाले १० वटा विद्यालयमा रेडपान्डा सम्बन्धि पठनपाठन गर्ने गरेको छ । विद्यार्थीलाई स्टेशनरी तथा पुरस्कारवापत २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । फुरुम्बुमा अल्लो प्रशोधन कार्यक्रम लागू गरेको छ । १८ जनालाई तालिम समेत प्रदान गरेको छ । पोखरा विश्व विद्यालयले उत्पादित अल्लोको धागो खरिद गर्ने सहमति गरेको छ । पाथीभरास्थित हर्कटे क्षेत्रमा गोठालालाई पाल,सोलार तथा गोठमा प्रयोग गरिने सामाग्री प्रदान गरेको छ । विभिन्न ठाउँमा विभिन्न प्रजातिका ९ हजार बढि विरुवा उत्पादन गरि वितरण गरेको छ । सामुदायिक वनका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि लेखा र अग्नी नियन्त्रण सम्बन्धि तालिम प्रदान गरेको संयोजक राईले बताए ।
वर्षमा कम्तीमा ४ पटकसम्म रेडपान्डाको बासस्स्थानको अनुगमन तथा रिर्पोटिङ गर्ने गरेको छ । पाथीभरा र याम्फुदिन क्षेत्रमा चरा समेत गणना गरेको थियो । कतिपय ठाउँमा पासो पाइएकाले नियन्त्रणका लागि सबैको ध्यान जानुपर्ने खाँचो औल्याइएको छ । गैरसरकारी महासँघका जिल्ला अध्यक्ष खड्ग विक्रम सुवेदीले विद्यालयमा रेडपान्डा सम्बन्धि पठनपाठनका लागि शिक्षकलाई दिने तलबको विषयमा जिज्ञासा राखे ।
सुवेदीले भने,‘विद्यार्थीलाई पाठ्यपुस्तक नै दिएर पठनपाठन गराउनु राम्रो हो । यद्यपी शिक्षकले पाउने सुविधा कसरी प्रदान हुन्छ ।’ पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङ्बोले तिरिङेमा अल्लोको कार्यक्रम लागू गर्न आग्रह गरे । अध्यक्ष मेन्याङ्बोले भने,‘अल्लोको कच्चा पदार्थ छ । उत्पादनसग जोडौ । महका लागि पनि मौरी पालन गर्न सहयोग गरौ ।’ प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले कार्यक्रम लागु भएका पालिकाको मापदण्डबारे जिज्ञासा राखे । प्रजिअ पोखरेलले भने,‘कार्यक्रम राम्रो छ । यद्यपी छनौटको मापदण्ड थियो वा थिएन ?’ आगामी वर्षदेखि फिल्डमा खटिने कर्मचारीलाई प्रोत्साहनका लागि पुरस्कृत गर्न सुझाव समेत दिए ।
यसैबिच कार्यक्रममा रेडपान्डाको संख्या घटेको वा बढेको विषयमा गणना गर्नुपर्ने माग गरेको छ । ९ वर्ष अगाडी गणना गरिएको थियो । पुनः गणना गर्न निकै महँगो पर्ने भएकाले तत्काल गणना सम्भव नभएको हिमाली संरक्षण मंञ्चका अध्यक्ष चन्द्रमणि लिम्बुे बताए । सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमूख छिरिङ् शेर्पाले प्रत्येक पालिकासँ समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । प्रमूख शेर्पाले भने,‘संरक्षण आफैमा चुनौतीको विषय हो । तथापी समन्वय गरेर काम गर्नु साझा दायित्व हो ।’