काठमाडौँ — चीनले नेपालका लागि अमेरिकी प्रस्तावित राजदूत डिन थम्प्सनले संसदीय सुनुवाइका क्रममा दिएको अभिव्यक्तिको खण्डन गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक तथा समाचार शाखाका निर्देशक प्रवक्ता वाङ सियाङ्लाेङले शुक्रबार थम्प्सनको भनाइको खण्डन गरेका हुन् ।
बुधबार सुनुवाइका क्रममा थम्प्सनले चीनको दुष्प्रचारका बाबजुद नेपाली संसद्बाट (मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता अनुमोदन भएको बताएका थिए ।
चिनियाँ दूतावासले उल्टो अमेरिकाले दुष्प्रचार गरेको बताएको छ । एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको कुरा उल्लेख गर्दै प्रवक्ता वेईले नेपाली संसद्बाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएकी छिन् । उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ ।
दूतावासकी प्रवक्ताको टिप्पणीमा भनिएको छ, ‘राष्ट्रिय हितलाई सुरक्षित गर्दै सार्वभौमिकता तथा स्वतन्त्रताको रक्षा गर्ने नेपाल सरकार र नेपाली जनताको वैधानिक कदम हो । अमेरिकी पक्षबाट आएको टिप्पणी पूर्ण रूपमा आधारहीन छ । उनीहरूले चीनको बद्नाम गर्ने प्रयास मात्रै गरेका छैनन्, नेपाल र नेपाली जनताको अपमानसमेत गरेका छन् ।’ वास्तविक रूपमा अमेरिकी कदमचाहिँ ‘दुष्प्रचार’ भएको चीनको टिप्पणी छ ।
निकट मित्रराष्ट्रका हिसाबले चीनले नेपालको सामाजिक आर्थिक विकासका लागि निरन्तर सहयोग गर्ने पनि दूतावासले बताएको छ । ‘नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्रताको सुरक्षाका लागि’ चीनले निरन्तर सहयोग गर्ने पनि प्रवक्ता वेईले जनाएकी छिन् ।
त्यस्तै अन्तर्राष्ट्रिय विकास सहकार्यमा आपसी समझदारी र समानताको सिद्धान्त कायम रहनुपर्नेमा चीनको मान्यता अडिग रहेको दूतावासले जनाएको छ । त्यस्तै हरेक मुलुकको सार्वभौमिकता र नागरिकको चाहनालाई पनि सम्मान गर्नुपर्ने उसको भनाइ छ । आफ्नो स्वार्थ पूर्तिका लागि कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुनेमा पनि चीनले जोड दिएको छ ।