काठमाडौँ : वर्तमान सरकार गठन भएको एक वर्षमा मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेषगरी एक वर्षको अवधिमा हवाई पूर्वाधारले सफलता हासिल गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । उनले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा महत्वपूर्ण फड्को मारेको र यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले हवाई पूर्वाधार विकास र सेवा सुदृढिकरणमा प्राधिकरण लागि परेको बताए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहेपनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।