नयाँ दिल्ली — भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले ‘इकोनोमी डिप्लोमेसी’ (आर्थिक कूटनीति) लाई प्राथमिकताका साथ अघि बढाएका छन् । उनले भारतका उद्योगी, व्यापारी तथा लगानीकर्ताहरूलाई नेपालमा रहेको लगानी तथा व्यापारका अवसर तथा सम्भावनाबारे जानकारी दिइरहेका छन् ।
एक महिनायता मात्रै शर्माले भारतका उद्योगी व्यवसायीका प्रमुख तीन संस्थाले नेपाल सम्बन्धमा आयोजना गरेका अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गरेका छन् । बुधबार उनले फेडरेसन अफ इन्डियन चेम्बर्स एन्ड इन्डस्ट्री (फिक्की) को कार्यालय पुगेर भारतीय उद्यमी, व्यवसायीहरूलाई भने, ‘नेपालमा लगानीका लागि प्रशस्तै सम्भावनाहरू छन् । सरकारले धेरै विषयमा सहुलियतहरू पनि प्रदान गरेको छ ।’
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका शर्मा अर्थशास्त्री हुन् । आर्थिक विषयमाथिको पकडले उनलाई ‘आर्थिक कूटनीति’ लाई अघि बढाउन मुद्दत पुर्याएको छ । दूतावासमा पनि भारतीय उद्योग जगतका व्यक्तिहरूले उनलाई भेटिरहेका हुन्छन् । यसअघि पीएचडी चेम्बर र द एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डियासँग सहकार्य गरेर शर्माले दुईवटा बृहद् अन्तर्क्रियाको आयोजना गराइसकेका छन् । ती अन्तर्क्रियामा नेपालसँग व्यापार गर्ने, लगानी गरेका र गर्न चाहने इच्छुक उद्यमी व्यसायीहरूको बाक्लो उपस्थिति थियो । सबै कार्यक्रममा शर्माले भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त थलो हुने दाबी गर्दै आएका छन् ।
दूतावासका इकोनोमिक काउन्सिलर बद्री तिवारीले राजदूतका रुपमा शर्माको आगमनपछि आर्थिक क्रियाकलापसम्बन्धी छलफल र अन्तर्क्रियाहरू बढेको बताए । ‘उहाँले भारतीय लगानीकर्ता तथा उद्यामी, व्यवसायीलाई नेपालको पक्ष बुझाउने प्रशस्तै प्रयास गरिरहनुभएको छ,’ उनले भने ‘संस्थागत रूपमा भारतका उद्यमी व्यवसायीका प्रमुख तीनवटा संस्थामार्फत सयौं व्यवसायीसँग उहाँले एक महिनायता अन्तर्क्रिया गरिसक्नुभएको छ ।’