ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको नेतृत्वमा जनश्रमदानमार्फत १५ किलोमिटर सडक मर्मत गरिएको छ।
शनिबार करिब २ सय स्थानीय युवाको सहभागितामा मदन भण्डारी राजमार्ग (बसन्तपुर गुफा साँघु ढुङ्गेसाघु दोभान) को गुफा साँघु सडकखण्डको मर्मत गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताए। अध्यक्ष वनेमकाअनुसार राजमार्गको गुफा–साँघुसम्मको खण्ड अत्यन्तै खराब अवस्थामा रहेको र वर्षायाममा यातायात सञ्चालन गर्न ज्यादै समस्या थियो। ‘मैवाखोलाको लाईफ लाईनको रुपमा लिइएको यो सडकमा यातायात सहज रुपमा संचालन गर्न यो सडक हाल वर्षा याममा अवरुद्ध हुँदा मैवाखोलाका जनसमुदायले धेरै सास्ती भोग्नु परिरहेको छ।’
अध्यक्ष वनेमले भने, ‘मैवाखोला गाउँपालिकाले आवश्यक स्काभेटर, जेसिभि र ट्रयाक्टर लागि इन्धनको व्यवस्था गर्ने गरि जनश्रमदानमार्फत मर्मत गरेका हौँ।’ सो कार्यका लागि विभिन्न व्यवसायीहरुले १७ वटा ट्याक्टर निःशुल्क उपलब्ध गराएका थिए। ट्याक्टरमा ल्याइएको ढुंगा, माटो मिलाउन मैवाखोलाबासी खटेका थिए। लालीगुराँसको राजधानी तिनजुरे, मिल्के जलजले हुँदै विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने यो बाटोको स्तरोन्नतिमा संघीय सरकारले चासो नदिएको अध्यक्ष वनेमको गुनासो छ।
यो सडकका विषयमा बारम्बार जानकारी गराउँदा पनि सरकारले वेवास्ता गरेको उनले बताए। वर्षायाममा यातायात सञ्चालन गर्न समस्या भएपछि अध्यक्ष वनेमले गाउँपालिकाबासीलाई श्रमदानका लागि आह्वान गरेका हुन्। संघीय सरकार मातहत रहेको यो सडक खण्डमा गाउँपालिकाको बजेट लगाउन मिल्दैन। अध्यक्ष वनेमले सडक मर्मतका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत जनश्रमदानका लागि आह्वान गरेका थिए।
सोही सन्देशका आधारमा स्थानीयले उत्साहजनक सहभागिता जनाएको गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिए। उनकाअनुसार पालिकाले न्यूनतम महिनामा एकपटक भएपनि जनश्रमदानको अभियानलाई निरन्तरता दिने तयारी गरेको छ।