देवराज गुरुङ
ताप्लेजुङ, असार २६ गते । डिभिजन बन कार्यालयले जुडीबुटी खेती विस्तार भण्डारणतर्फ किसानलाई दिएको अनुदानको सोधपुछ तथा खेती गरे÷नगरेको विषयमा आइतबार स्थलगत अनुगमन गरेको छ । चालु आ.व.२०७८÷७९ मा किसानलाई दिएको ७ लाख ५६ हजार रुपैयाँ सदुपयोगबारे स्थलगत अनुगमन गरेको हो । तीतेपाती,सतुवा,चिराइतो,लौठ सल्ला र टिमुर लगायत जडीवुटी खेती गर्ने ६ जना किसानलाई प्रोत्साहन वापत अनुदान दिएको कार्यालयले जनाएको छ ।
सहायक वन अधिकृत ललित कुमार यादवका अनुसार ३ जनालाई १ लाख ५२ हजार र ३ जनालाई १ लाखका दरले अनुदान दिएको हो । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङ,फुङलिङ नगरपालिका–९ हाङदेवाका कुमार गुरुङ र वडा नं. ८ दोखुका कुमार लिम्बुलाई १ लाख ५२ हजार रुपैयाँ दिएको हो । सनमले करिब ४ रोपनी खेतमा तीतेपाती खेती गरेका छन् । कुमार गुरुङ र कुमार लिम्बुले सतुवा खेती गरेका छन् । यसैगरि फुङलिङ नगरपालिका–११ फावाखोलाका पुर्ण बहादुर भट्टराई,मैवाखोला गाउँपालिका–४ का सन्त कुमार लिम्बु र फुङलिङ नगरपालिका–९ हाङदेवाका इन्द्र बहादुर गुरुङले एक÷एक लाख रुपैयाँ अनुदान प्राप्त गरेका हुन् ।
जिल्ला समन्वय समिति प्रमूख छिरीङ लामासहितको टोलीले हाङ्देवास्थित गुरुङको सतुवा खेती गरेको स्थानमा पुगेर खेती बारे जानकारी लिएको छ । लामाले भने,“वास्तविक किसानलाई अनुदान दिएको पाइयो । अब उत्पादन र बजारीकरणको मेहनत गर्नुपर्छ ।” यसअघि अनुदान प्राप्त गरेका किसानलाई पुनः अनुदान नदिएको कार्यालयले जनाएको छ । गुरुङले भने,“प्रतिगोटा १० रुपैयाँका दरले १४ हजार विरुवा खरिद गरेर खेती लगाएको छु । १ हजार ५ सय विरुवा मर्यो । तैपनी बाँकीचाहिँ राम्रै छ ।”
यसैबिच कार्यालयले जडीबुटी खेती विस्तार भण्डारण प्रशोधन भण्डारण कक्षका लागि ९ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ । पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुमा भण्डारण कक्ष निर्माण गरिएको छ । सिन्चेकु सामुदायिक वन उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको हो ।
यता नीजि वनतर्फ ८ जना किसानलाई ८ लाख रुपैयाँ अनुदान दिएको छ । एक÷एक लाख रुपैयाँका दरले अनुदान प्रदान गरेको हो । आठराई त्रिवेणी गाउँपालिका–४,चाँगेका दिल कुमार लङ्वा,मैवाखोला गाउँपालिका–२ का राजु तामाङ,फुङलिङ नगरपालिका–९ हाङ्देवाका लाक्पाछेकी शेर्पा,सुकेटारका ओम प्रकाश राई र ७ का अनिल खड्कालाई एक लाखका दरले अनुदान दिएको छ । फुङलिङ नगरपालिका–८ का उमानाथ पौडेल र मैवाखोला गाउँपालिका–२ का पहलमान लिम्बुलाई क्रमशः ३९ हजार र ४२ हजार रुपैयाँ दिएको छ । वनजंगल घेरावारा,बोटविरुवा काटछाँट र स्याहारका लागि अनुदान दिएको कार्यालयले जनाएको छ । अनुगमनमा पुगेको प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले अनुदान पाउने किसान साँच्चिकै मेहनती पाएको उल्लेख गरे । हाङदेवास्थित शेर्पाको वनमा पुगेका प्रजिअ पोखरेलले भने,“यतिका मेहनत गरेका किसानलाई पाउनु नै उपलब्धि हो । तर आगामी दिनमा वन अझ फस्टाएको हेर्न पाइयोस् ।”
वास्तविक किसानलाई अनुदान दिन सके मात्र कार्यक्रमको सार्थकता हुने भएकाले छनौट गरेर मात्र अनुदान दिने गरेको छ । डिभिजन वन कार्यालय प्रमूखको संयोजकत्वमा फोकल टिम गठन गर्ने प्रावधान छ । प्रशासन,कोष तथा लेखा नियन्त्रक कार्यालय,फेकोफन,उद्योग वाणिज्य सँघ र कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका प्रतिनिधिलाई फोकल टिममा समावेश गर्ने गरेको छ ।
जिल्लास्थित ६ वटा ठाउँमा कार्यालयले नर्सरी स्थापना गरेको छ । डिभिजन वन कार्यालय,पाथीभरा सव डिभिजन कार्यालय तोक्मे,तेल्लोक,दोभान,सान्थाक्रा र तिरिङेमा नर्सरी स्थापना गरेको छ । ती ६ वटा ठाउँमा जडीवुटी विरुवा १ लाख,वार्षिक विरुवा १ लाख ५० हजार र वहुवर्षिय विरुवा ३० हजार रहेको सहायक वन अधिकृत यादबले बताए । सतुवा,बोजो,अमला,अर्रो,जापानिज सल्ला,टाँकी,निभारो,सुन्तला र कागतीका विरुवा छन् । यादबले भने,“विरुवा वितरण सुरु गरेका छौ । प्रति व्यक्ति २ सय भन्दा बढि माग भए जग्गाधनीपुर्जा माग गर्छौ ।” वन कार्यालयले रेडियो ताप्लेजुङ नजिक साढे ६ लाख रुपैयाँ खर्चिएर हरियाली चौतारी समेत निर्माण गरेको छ ।
जिसस प्रमूख लामा,प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेल,प्रहरी नायब उपरिक्षक कैलाश राई,डिभिजन वन कार्यालय प्रमूख विरेन्द्र शाह,सामुदायिक वन उपभोक्ता महासँघ अध्यक्ष सुरज ओझासहित पत्रकारको टोलीले अनुगमन गरेको थियो ।