काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।
आयोगले खर्च नभएको रुपियाँ अझै बढ्न सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए । आयोगले स्थानीय निर्वाचनका लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो। हालसम्म छ अर्ब ६१ करोड खर्च भएको देखिए पनि अझै घट्न सक्ने प्रवक्ता पौडेलले बताए ।
अर्थ मन्त्रालयले आयोगलाई निर्वाचनका लागि तीन चरणमा बजेट उपलब्ध गराएको थियो । पहिलो चरणमा कर्मचारी बीमा, दोस्रो चरणमा सामग्री खरिद तथा तेस्रो चरणमा बक्यौता फछ्र्योट लगायत कर्मचारीको तलब भत्ता दिइएको थियो ।