तीनजुरे मिल्के जलजले (टीएमजे)मा गुराँस जोगाउन बिरुवा रोपिँदै - Epathivara

तेह्रथुम — गुराँस मासिन थालेपछि स्थानीयले बिरुवा रोपेर संरक्षण प्रयास थालेका छन् । गुराँसको राजधानी भनिने तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रका स्थानीयले यो सक्रियता देखाएका हुन् ।

 

स्थानीयले दाउरा, घरगोठ बनाउन, अन्नबालीका लागि फडानी, सडक निर्माण, फूलको जुस बनाउन, विद्युत् लाइन विस्तारलगायतका कारणले टीएमजे क्षेत्रको गुराँस वन संकटमा छ । यस्तोमा स्थानीयले वसन्तपुर म्याङलुङ सडक खण्डको दायाँबायाँ सौन्दर्य र भू–क्षय रोकथामका लागि गुराँसका बिरुवा रोप्दै छन् । ‘लोपोन्मुख प्रजातिका रोप्दैछौं’ म्याङलुङ नगरपालिका सुर्केका विजेश भट्टराईले भने ।

पूर्वी पहाडको प्राकृतिक सौन्दर्य उक्त क्षेत्रमा ३१ प्रजातीका गुराँसको घना वन पछिल्लो समय पातलिँदै गएको संखुवासभाको मादी नगरपालिकाका निवर्तमान प्रमुख विदुर लिङथेपले बताए । मादी पनि टीएमजे क्षेत्रमै पर्छ । फागुनको पहिलो साताबाट टीएमजे क्षेत्रमा प्रशस्तै फुल्ने गुराँसका प्रजाति अचेल कमै मात्र देखिन्छन् ।

 

तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङको लेकाली क्षेत्रमा वनै रातै हुने गरी फूल्ने गुराँस बिस्तारै लोप हुँदै जान लागेको तेह्रथुमका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । संरक्षणका लागि अहिले भइरहेको पहलले मात्र नपुग्ने वन संरक्षणकर्मीहरूको भनाइ छ । सडक खन्दा गुराँसको वन जोगाउनेतर्फसमेत ध्यान नदिइएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का अध्यक्ष तुलसी संग्रौलाले बताए ।

तेह्रथुमको मेन्छ्याम गाउँपालिकाका अध्यक्ष यादव खापुङले बेलैमा संरक्षणमा लागिएन भने गुराँसको वंश मासिन सक्ने बताए । गुराँस वनलाई सौन्दर्य पर्यटनको रूपमा विकास गनुपर्ने आवश्यकता स्थानीयले औंल्याए पनि त्यसतर्फ तिनै तहका सरकारले ध्यान दिएका छैनन् ।

 

रक्तअल्पता, रक्तस्राव, आमवात, चिनी रोग जस्ता अनेकौं रोगका लागि गुराँसको फूल प्रयोग हुने गरेको चैते सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष इन्द्र बहादुर खड्काले बताए । स्थानीयले जाम, तेल र रक्सीलगायतका समेत गुराँसको प्रयोग गर्छन् । तीनै जिल्लाका डिभिजन वन कार्यालयका अनुसार सामुदायिक वन समूहमा संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

देशका ४३ जिल्लाका हिमाली र पहाडी क्षेत्रमा पाइने गुराँसका संरक्षणका लागि सरकारले पाँचवर्षे कार्ययोजना तयार पारेर कार्यन्वयनमा ल्याएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा काठदाउराको अन्य विकल्प नहुँदा स्थानीयले गुराँस काटिरहेका छन् । पछिल्लो समय दाउराको अत्यधिक प्रयोग, कोइला बनाएर बिक्री गर्ने, खुला चरिचरन र चोरी निकासी र डढेलो जस्ता कारणले समेत गुराँस वन मासिँंदै गएको भन्दै वन तथा भूसंरक्षण विभागले २०७५–२०८०’ मै कार्ययोजना तयार पारेको हो ।

 

पछिल्लो समय बढेको तापक्रम एवं सुक्खापनसमेतले गुराँस संरक्षणमा चुनौती थपिएको वन संरक्षणकर्मीको भनाइ छ । मन्त्रालयले डेढ वर्षअघि संरक्षणका उपाय खोज्न तेह्रथुमको वसन्तपुरमा एक दिने कार्यशालाको आयोजना गरेको थियो । कार्ययोजनामा दिगो व्यवस्थापन र गुराँस केन्द्रित उद्यम तथा पर्या–पर्यटनमा सघाउने कार्यक्रम समेटिएको छ ।

२०८० सम्ममा गुराँस वन क्षेत्रको पहिचान, चरन व्यवस्थापन र वृक्षरोपण गरिने कार्ययोजनामा उल्लेख छ । दाउरा धेरै प्रयोग हुने क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्ने, सुधारिएको चुल्हो वितरण गर्नेलगायतका काम पनि कार्ययोजनामा छ । वन अनुसन्धान विभागका अनुसार देशमा गुराँस मिश्रित वन क्षेत्र ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर छ । कार्ययोजनाका अनुसार गुराँस वन जोगाउन ५ वर्षमा २० करोड रुपैयाँ बजेटको आवश्यकता औंल्याइएको छ । प्रदेश १ का संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल टीएमजे क्षेत्रको वनलाई गुराँसको राजधानीको रूपमा मानिएको छ । गुराँसको लोपोन्मुख प्रजातिको संरक्षणका लागि वनस्पति विभागले र अध्ययन अनुसन्धानका लागि वन अनुसन्धान तथा तालिम केन्द्रले समेत संयोजन गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर