ताप्लेजुङ– हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनावर हिउँ चितुवाको प्रमुख आहाराको रूपमा नाउर मानिन्छ । विसं २०७३ मा भाले पोथी गरी दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद् तथ्याङ्कमा उल्लेख छ । यसपछि विसं २०७७ को गणनामा भाले–पोथी गरी एक हजार ४२१ नाउर भेटिएको थियो । विसं २०७७ मा कोभिड–१९ का कारण चार ब्लकमध्ये गोला–मौमा ब्लक क्षेत्रमा भने गणना हुन सकेको थिएन ।
भर्खरै सम्पन्न भएको विसं २०७८ को नाउर गणनामा विगतको तुलनामा कमी आएको देखिएको छ । भाले–पोथी गरी एक हजार ६४८ नाउर कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेको गणना तथ्याङ्कले देखाएको छ । राम्जेल ब्लक वयस्क भाले सात अर्धवयस्क भाले २२, तरुण भाले ४४ र किशोर भाले ४८ रहेको संरक्षण क्षेत्रले जनाएको छ । त्यस्तै बच्चा नाउर ३३ र पोथी ७३ गरी राम्जेल ब्लक क्षेत्रमा २२७ वटा नाउर हरेको तथ्याङ्क छ । घुन्सा–खाम्वाचेन ब्लक क्षेत्रमा वयस्क भाले ७१, अर्धवयस्क भाले ६२, तरुण भाले ६७ र किशोर भाले ५८ वटा रहेका छन् । बच्चा ३६ र पोथी १५७ गरी जम्मा ४५१ वटा घुन्सा–खाम्वाचेन ब्लक क्षेत्रमा रहेको तथ्याङ्क छ ।
याङमा ब्लग क्षेत्रमा ७४ वयस्क भाले, ७७ अर्धवयस्क भाले, ११२ तरुण भाले र ८१ किशोर भाले रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए । त्यस्तै १२ बच्चा, १५७ पाथी र पहिचान नखुलेको ३४ वटा गरी ५४७ नाउर याङमा क्षेत्रमा रहेका छन् । गोला–मौमा ब्लक क्षेत्रमा ६६ वयस्क भाले, ५५ अर्धवयस्क भाले, ६३ तरुण भाले र ७१ किशोर भाले छन् । त्यसैगरी दुई बच्चा, १५८ पोथी र आठ पहिचान नखुलेको नाउर गोला–मौमा क्षेत्रमा रहेको उनले बताए।
गत वर्ष गरिएको गणना घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणनाको तथ्याङ्कमा आएको छ । याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ नाउर रहेको कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । पोथी ४९५ र ८१६ भाले रहेको थियो । असी वटा बच्चा रहेको गणनाको तथ्याङ्कले जनाएको छ । २७ नाउर भाले पोथी नछुट्टिएका नाउर रहेका थिए । २०८ नाउर वयस्कको भाले रहेको थियो । २०७ नाउर तरुण भाले रहेको थियो । २०६ नाउर किशोर अवस्थाको रहेको तथ्याङ्कले जनाएको छ । १९८ अर्धवयस्क उमेरको नाउर रहेको कार्यालयले जनाएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरनको अध्ययन अवलोकन गर्न चारवटा क्षेत्र (ब्लक)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्था बारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लगमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको उनले बताए ।