नेपाली कांग्रेस ताप्लेजुङः दाहाल र बोखिमलाई स्पष्टिकरण, चुनावमा वेइमानी गरेकै हुन त ? - Epathivara

ताप्लेजुङ ।  नेपाली काग्रेसकी पूर्व सभापति लीलादेवी बोखिमलाई असार १२ गते गणेश सिग्देलले पत्र बुझाएको विषय धेरैले चिया गफमा सुने । सिग्देल पार्टीको अनुशासन समिति सदस्य हुन् । अझ पूर्व सभापति केशव प्रसाद दाहाललाई पनि पत्र बुझाएको सुचनाले धेरैको कान ठाडो बनेको पाइयो । त्यतिका नेतालाई त कारवाही गर्ने निर्णय हुँदा बाँकी त सामान्य नै हुन भन्ने गरिको टीका टिप्पणी छ्यापछ्याप्ती सुनिएकै थियो । कसैले समाचार भनेर दिने कुरा विज्ञापन तर लुकाउने कुरा चाहिँ समाचार । आखिर पत्रमा के लेखिएको छ भनेर पाठकसमक्ष पु¥याउने हेतुले खोजी गर्ने क्रममा पत्र प्राप्त भएको हो ।

पत्र काटिएको मिति जेठ १७ गते छ । विषय ‘स्प्रष्टिकरण सम्बन्धमा’ भन्ने उल्लेख छ । तर पत्रचाहिँ म्याद गुज्रिन ४ दिन मात्र बाँकी छ । साँच्चिकै जवाफ चाहनेले नै यतिका समय पत्र लुकाएर अन्तिम समयमा दिनुलाई के भन्ने ? अनि आफ्नो नाममा पत्र छ भनेर लख काट्नेले किन पत्रबारे सोधपुछ नगरेका होलान ?

स्प्रष्टिकरणको बुँदा नं. १ मा सोधिएको छ, लोकतान्त्रिक पार्टीमा आफ्नो फरक विचार राख्ने स्वतन्त्रता हुँदाहुँदै,चुनावको मैदानमा जादै गर्दा कार्यकर्ताको मनोबल गिर्नेगरि र पार्टी निर्णय विरुद्ध विद्रोही उम्मेदवारलाई प्रोत्साहन हुनेगरि २०७९ बैसाख ११ गते चुनावी अति संवेदनशिल घडिमा पार्टी निर्णय र पार्टीको हित विपरित पत्रकार सम्मेलन (भण्डाफोर) कार्यक्रम के उदेश्यले गर्नुभयो ? यो पार्टीको हितमा थियो ?

बुँदा नं. २. गठबन्धनमा लागेर आन्तरिक छलफल नगरि निर्णय गरियो भन्ने तपाईको अभिव्यक्ति कसरी पुष्टि गर्न सक्नुहुन्छ ? जबकी तपाई आफै पार्टी बैठकमा संवाद समिति सदस्यमा बस्नुहोस भन्दा इन्कार गरेर जिम्मेवारीबाट पन्छिएर बाहिर बसेर गठबन्धन र पार्टीले गरेको निर्णय विरुद्ध पत्रकार सम्मेलन आयोजना गरि खण्डन गर्नुभयो । के जिम्मेवार नेताले पार्टीको हितमा गर्ने कार्य यहि हो ? तपाईलाई चुनावको सम्मुखमा अन्र्तसंघर्ष र समानान्तर गतिविधि गरेर सहि कार्य गरेको जस्तो लाग्छ ?

सिरीजङ्गा गाउँपालिका–७ खेवाङमा भवानीप्रसाद दाहाल र तत्कालिन वडाअध्यक्ष नरेन्द्र तिवारीलाई उक्साएर विद्रोही उमेद्वार वृद्धिप्रसाद दाहाल,वडासदस्यहरु जगतप्रसाद लिम्बु,शर्मानन्द दाहाल,पे्रमिका लिम्बु र ओमादेवी सार्कीलाई पार्टी विरुद्ध गतिविधिमा संलग्न गराएको आरोप लगाएको छ । यता पाथीभरा याङवरक गाउँपालिका–४ डुम्रिसेमा तत्कालिन क्षेत्रिय सभापति राम कङ्लिवालाई प्रयोग गरेर निर्वतमान वडाअअध्यक्ष चन्द्रमान खोयाङ र सदस्यहरु जुनिता साम्सोहाङ,गृधन राई र राजेन्द्र सेनेहाङ उठाएको आरोप लगाएको छ ।

(विस्तृत ४ पेजको पत्रमा पढ्नुहोस् ।)

हुनतः चुनावमा क–कसले वेइमानी गरे वा गरेनन्,सायद पार्टीले मसिनो गरि समिक्षा गरेकै होला । भलै,सार्वजनिक नगरेको हुन सक्छ । सबल र दुर्वल पक्षबारे तयार भएको मौखिक दस्ताबेज समयक्रमसँगै नष्ट हुन्छ । तर लिखित दस्तावेज राखिनु भावी सन्ततीप्रति उत्तरदायी हुनु पनि हो । प्रजातान्त्रिक पार्टी भएकाले आफुलाई लागेको कुरा ढुक्कले बोल्न पाउने अधिकार भरपुर प्रयोग गरेकै हुनुपर्छ । चुनावमा पाँच दलिय गठबन्धन गरेर नाफा घाटा कति भयो,जति नै लेखाजोखा गरेतापनि तोडमोड गर्न नमिल्नेगरिको तथ्यांक नै पर्याप्त छ । साँच्चिकै भन्ने हो भने चाहिँ नैतिकताको पाठ पढाउनेको शिर लाजले निहुरीएको हुनुपर्ने हो । हुनतः पार्टीको मात्र नेतृत्व हत्याउने तर जनताको नेतृत्व गर्न तयार नहुने अभियान नै हो भने राम…भन्नुको विकल्प नहोला ।

सभापति गजेन्द्र तुम्याङ इतर समूहलाई कारवाही गर्न आएका हुन कि पार्टी हाँक्न ? नेतृत्वले आरोप लगाएका आरोपित लीलादेवी बोखिम र केशव प्रसाद दाहाल लगायतले पनि पार्टीकै काखमा बसेर छुरा हानेकै हुन त ? सभापतिले आफ्नै वडामा आफ्नै पार्टीका नेता कार्यकर्ता चिन्नै नसक्नेगरि चुनावमा तेश्रो हुँदा नैतिक दायित्व लिनु पर्छ वा पर्दैन् ? संस्थापन इतर समूहले चुनावमा पार्टीलाई सघाएको हो भने नेतृत्वले लगाएको आरोपको किन खण्डन गर्न सक्दैन ? एकले अर्कोलाई चुनावमा पैसा नै लिएको भनेर लगाएको आरोप साँचो कि चरित्रहत्या गर्ने योजना ? सतहमा पोखिनेगरिको रमिता देखाउने दुवै पक्षलाई सायदै बहादुर भनिदैनहोला ।

हुनतः टिकट वितरणमा प्रदेश नं. १ का श्रम,रोजगार तथा उद्योग मन्त्री प्रतापप्रकाश हाङ्गामले गरेको हस्तक्षेप त्यही बेला छताछुल्ल भएको थियो । पूर्व मन्त्री तथा महाधिवेशन प्रतिनिधि मणि लामाको लोकप्रियता भएरै होला सिदिङ्मा गाउँपालिकामा वडा र पालिकाको नतिजा काग्रेसको लागि कति बन्यो ! संस्थापन इतर समूहले आठराई त्रिवेणी गाउँपालिकामा विश्वनाथ सिटौलालाई बलियो उमेद्वार मानेर टिकट हत्याउन सफल भयो । तर नतिजा पालिकामा त के यसअघि जितेको वडा नै गुमायो । यीनै प्रतिनिधिमूलक घटनाकै पेरिफेरिमा आधारित रहेर पार्टीभित्रको आन्तरिक कलह मौलाउँदै गएको हो । तर भित्री रहस्यचाहिँ आउँदो प्रदेश र संघिय चुनावमा कसले टिकट पाउने भन्नेमै हो । कसले कसलाई कुन आक्षेप लगाएर अघि बढ्न सकिन्छ,त्यहि अनुसार गरिएको रणनीति हो । खैर,यसरी राजनीतिक भ¥याङ को कति चढ्न सक्लान भविष्यकै गर्वमा छ ।

पार्टीभित्र योगदान धेर थोर होला । तर शक्तिमा हुँदा आफ्नै पार्टीका साथीलाई ढिलमा पु¥याउने मात्र होइन,ढिलमुनि नै झार्नेगरिको रोग काग्रेस पार्टीमा नौलो होइन् । चारतारे झण्डा र रुख चिन्हलाई प्रिय मानेर अहोरात्र खट्ने कार्यकर्तामा देखिएको निराशालाई पत्रले अझ मलजल गरेको चाँहि साँचो हो । काग्रेस पार्टीभित्रको आन्तरिक कलह लुकाउन नमिल्नेगरिको बनेको छ । कलह हुनुमा जसले जसलाई लगाएको आरोप छ, त्यसको पुष्टी गर्न बोलेजस्तो सहज कदापी नहोला । कलहको यात्रा कहाँ पुगेर टुंगो लाग्छ । प्रतिक्षाको विषय मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय